
आयोगको मूलभूत लक्ष्यः
भ्रष्टाचार नियन्त्रणको माध्यमद्वारा मुलुकमा कानूनी राज्य र सुशासन स्थापना गर्न योगदान पुर्याउने ।
भ्रष्टाचार बिरुद्ध सामुदायिक शिक्षा कार्यक्रम
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६४ साल बैशाख २१ गते देखि नमूना मछिन्द्र माध्यमिक बिद्यालयको कक्षा १० को बिद्यार्थीहरुलाई भ्रष्टाचार नियन्त्रणमा बिद्यार्थीहरुको भूमिका वारे प्रशिक्षण दिइ भ्रष्टाचार बिरुद्धको सामुदायिक शिक्षा कार्यक्रमको सुरुवात गरेको छ । गत बैशाख १४ गते आयोगमा आयोजित एक समारोहमा का०वा०प्रमुख आयुक्त श्री ललित बहादुर लिम्वुले शब्दवाट उद्घघोष गर्दै उक्त कार्यक्रमको औपचारिक शुरुवात गर्नु भएको थियो । बिद्यालय / महाबिद्यलयहरुमा भ्रष्टाचार बिरुद्धको सन्देश फैलाउन सकिएमा भ्रष्टाचार नियन्त्रण गर्ने कार्यमा ठूलो सहयोग पुग्न जाने कुरामा आयोग बिश्वस्त छ । नमूना मछिन्द्र माध्यमिक बिद्यालयमा प्रशिक्षण कार्यको शुरुमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव रत्नकाजी बज्राचार्यले परिवर्तनका वाहक बिद्यार्थीहरुले भ्रष्टाचार नियन्त्रणमा खेल्नसक्ने भूमिकाको महत्व दर्शाउंदै विद्यालयहरुमा प्रशिक्षणको उदेश्यवारे बताउनु भएको थियो । आयोगका उपसचिवहरु खड्ग बहादुर राना, प्रेम प्रसाद पौडेल तथा शाखा अधिकृतहरु पुरुषोत्तम अधिकारी, उर्मिला दाहाल र निरिक्षक बिजय श्रेष्ठले भ्रष्टाचार नियन्त्रणमा बिद्यार्थीको भूमिकावारे बिभिन्न पक्षमा प्रशिक्षण दिनुभएको थियो । यस प्रकारको कार्यक्रम आगामी दिनहरुमा अन्य बिद्यालयहरुमा समेत गर्ने रहेको छ ।
त्यसैगरी मिति २०६४।१।२८ का दिन महिला बिकास कार्यालय ललितपुरले प्रवर्द्धन गरेको बिभिन्न सरकारी संस्थाका २६ जना महिला पदाधिकारीहरुलाई भ्रष्टाचार बिरुद्ध महिलाहरुको भूमिका बिषयमा हालै प्रशिक्षण दिइयो । आयोगका सहसचिव श्री रत्नकाजी बज्राचार्यले प्रशिक्षणको महत्ववारे प्रकाश पार्नुभएको थियो भने उपन्यायाधिवक्ता सूर्यनाथ प्रकाश अधिकारी, शाखा अधिकृत गोमादेवी चेम्जोङ, इन्जिनीयर कुमार घिमिरे र निरिक्षक इन्द्र बहादुर डाँगीले बिविध विषयमा प्रशिक्षण दिनु भएको थियो ।