भूमिसुधार तथा मालपोत कार्यालय,भक्तपुरका नायव सुब्बा हरि नारायण उपाध्याय र लेखापढी व्यवसायी हिरामणी निरौलाउपर आरोप-पत्र दायर गरिएको ।
प्रेस विज्ञप्ति :- मिति २०७६।०५।१० गते
--------------------------------------------
मालपोत कार्यालय, भक्तपुरमा कार्यरत रहेका कर्मचारीहरूले कार्यालय समय पश्चात तथा कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायीहरूसँग घुस/रिसवत माग गर्ने गरेको हुँदा संलग्न कर्मचारीलाई कारवाहीगरी पाउँ भन्ने व्यहोराको सूचना एवं उजुरीको आधारमा मालपोत कार्यालय, भक्तपुरका नायव सुव्वा हरि नारायण उपाध्यायले सेवाग्राहीहरूको कामलाई लेखापढी व्यवसायी हिरामणी निरौला मार्फत सहज गरिदिए बापत कार्यालयको अन्तिम समयमा सेवाग्राहीहरूको भीडभाड कम भए पश्चात लेखापढी व्यवसायी हिरामाणी निरौलासँग रू.४,०००।–(चार हजार) घुस रकम लिई लुकाई राखेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोग टङ्गालबाट खटिई गएको टोलीले निजहरूलाई प्रमाण सहित नियन्त्रणमा लिई घुसबापत लिएको रकम रू.४,०००।–(चार हजार) बरामद भएको थियो ।
उक्त रकम घुस/रिसवतबापत लेनदेन गरेको देखिन आएकोले निज नायव सुब्बा हरिनारायण उपाध्यायले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको र लेखापढी व्यवसायी हिरामणी निरौलाले सेवाग्राहीको काम आफू मार्फत सहज गराउनलाई नायव सुब्बा हरिनारायण उपाध्यायलाई रू.४,०००।–(चार हजार) घुस रकम दिई भ्रष्टाचार निवारण ऐन,२०५९ को दफा ३ को उपदफा (३) को कसुर गरेको स-प्रमाण पुष्टि भएको हुँदा निजहरूलाई जनही विगो रू.४,०००।–(चार हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र जरिवाना सजाय गरी घुस रिसवतबापत लिएको रकम विगो रू.४,०००।–निज प्रतिवादीहरूबाट ऐ.एनको दफा ३ को उपदफा (१) बमोजिम जफत हुन समेत मागदावी लिई आज विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रदीपकुमार कोइराला
प्रवक्ता
Tweet