कावासोती नगरपालिका, आयोग र प्रदेश नं ५ को समन्वयमा संचालित अन्तरक्रिया कार्यक्रम ।


प्रेस विज्ञप्ति :- मिति २०७६।०८।१९ गते ।
-------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको आयोजनामा भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयक अन्तर्क्रिया कार्यक्रम यही मिति २०७६ साल मंसिर १८ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूको प्रमुख आतिथ्य र श्रीमान् सचिव महेश्वर न्यौपानेज्यूको अध्यक्षतामा कावासोती नगरपालिका, नवलपरासी (वर्दघाट सुस्ता पूर्व) मा सम्पन्न भयो ।

यस कार्यक्रममा बोल्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री नवीनकुमार घिमिरेज्यूले मुलुकमा भ्रष्टाचार वढ्दै गइरहेको भन्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सक्रियता बढेको कारण भ्रष्टाचारजन्य कसूरहरु बढि स्थापित भइ सार्वजनिक भइरहेको धारणा व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहहरुलाई बिधि र कानून स्थापित गरी पारदर्शी रुपमा समयमै सम्पन्न गर्नेगरी गुणस्तरीय काम गर्न र आयोगको भूमिकालाई खुम्च्याइदिन अनुरोध गर्नुभयो । आयोगले सवैतहका सरकारहरुलाई नजिकबाट नियालिरहेको र आवश्यकता अनुसार समय समयमा सुझावहरु समेत दिइरहेको धारणा व्यक्त गर्दै सार्वजनिक श्रोतसाधनको प्रयोगमा मितव्ययिता र पारदर्शिता कायम नभएमा दण्डात्मक कारवाही गर्ने आयोगको संवैधानिक दायित्व पुरा गर्न आयोग बाध्य हुने धारणा व्यक्त गर्नुभयो । साथै जनप्रतिनिधि र राष्ट्रसेवकहरुलाई आयोगका गतिविधिहरुबाट त्रसित नभइ इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्न संवेदनशिल बन्न अनुरोध गर्दै इमान्दारीपूर्वक काम गर्नेहरुको लागि आयोग बाधक नभइ साधक भएको र हरेक जटिलताहरुमा सहजिकरणको लागि तयार भएको धारणा व्यक्त गर्दै सरकारी कार्यालयको कार्यसम्पादन प्रति जनता सन्तुष्ट हुन नसकेको टिप्पणी गर्नुभयो ।
साथै उपस्थित सञ्चारकर्मीहरु, जनप्रतिनिधि एवम् राष्ट्रसेवकहरुबाट राखिएका जिज्ञासाहरुको सम्वोधन गर्ने क्रममा माननीय प्रमुख आयुक्तज्यूले आयोगले भ्रष्टाचार विरुद्धमा शून्य सहनशिलताको नीति अवलम्वन गरिरहेको र ठूला एवं साना नभनी सवै भ्रष्टाचारजन्य कसूरहरुलाई कारवाहीको दायरामा ल्याइएको बताउँदै आयोगबाट अनुसन्धान भइरहेका ठूला भ्रष्टाचारका घटनाहरुका सम्वन्धमा समेत छिट्टै निर्णय भइ सार्वजनिक गर्ने तयारीमा रहेको व्यहोरा जानकारी गराउनुभयो ।  

यसैगरी उक्त कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का प्रमुख चेसराम आलेले मुलुकको सवैभन्दा कान्छो जिल्लाको रुपमा स्थापित भई छिटै संरचनागत स्थायित्व प्राप्त गरेता पनि  सेवाग्राहीलाई सन्तुष्टि दिन र सुशासन कायम गर्नेतर्फ थप प्रयास हुनुपर्ने अवस्था रहेको बताउनुभयो । जिल्लामा प्राकृतिक श्रोतसाधनको दोहनलाई न्यूनिकरण गर्दै उचित व्यवस्थापन गर्नेतर्फ सचेत वन्नुपर्ने आवश्यकतालाई जोड दिंदै आयोगको अनुसन्धान कार्यलाई शिघ्रता दिन आवश्यक सहयोग गर्न सवै स्थानीय तह र जिल्ला स्थित कार्यालयहरुलाई अनुरोध गर्नुभयो ।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव श्री महेश्वर न्यौपानेज्यूले यस किसिमको अन्तरक्रिया कार्यक्रमले स्थानीय तहमा समेत भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सचेतना अभिवृद्धि हुने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको बताउनुहुँदै आफ्नो कार्यकाल कुशलतापूर्वक सम्पन्न गरी स-सम्मान बिदाई हुने वातावरण निर्माण गर्नको लागि विधि र प्रक्रियाको पूर्ण पालना गरि उच्च इमान्दारिताका साथ आफ्नो कार्यसम्पादन गर्न  सवै जनप्रतिनिधिहरु र राष्ट्रसेवक कर्मचारीहरुलाई सुझाव सहितको मन्तव्य व्यक्त गर्नुभयो । साथै आयोगले आफ्ना आगामी गतिविधिहरुलाई थप व्यवस्थित गर्न र मुलुकमा आम नागरिकले प्रत्याभूत गर्नेगरी सुशासन स्थापित गर्न आयोगले आगामी ५ वर्षे रणनीति तर्जुमा गरि शिघ्र सार्वजनिक गर्ने तयारीमा रहेको जानकारी दिनुभयो ।

अन्तरक्रिया कार्यक्रममा कावासोती नगरपालिकाका मेयर श्री चन्द्रकुमारी पुनज्यूले कर्मचारीहरुको अभावको कारणले स्थानीय तहहरुलाई समयमै सेवा प्रदान गर्न समस्या परिरहेको धारणा व्यक्त गर्दै एक आपसमा दोषारोपण गर्नुको साटो समन्वय गरी सुशासन स्थापना गर्न स्थानीय तहहरु प्रतिवद्ध रहेको बताउनुभयो भने प्रमुख जिल्ला अधिकारी विष्णु कुमार कार्कीले भ्रष्टाचार नियन्त्रण र सुशासन स्थापना गर्ने दायित्व आयोगको मात्र नभइ सवै कार्यालय र कार्यालय प्रमुखहरुको पनि भएकोले सवैको प्रतिवद्धता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।  

आयोगका सहसचिव श्री कालीप्रसाद पराजुलीज्यूले उपस्थित प्रमुख अतिथि लगायतका सम्पूर्ण सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको ‍औचित्यतामाथि प्रकाश पार्नुभयो । आयोगको कार्यालय बुटवलका कार्यालय प्रमुख सहसचिव तारानाथ अधिकारीज्यूले  भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भूमिका विषयमा प्रस्तुति गर्नुभएको थियो । अन्तरक्रिया कार्यक्रममा नवलपरासी (वर्दघाट सुस्ता पूर्व)का सवै स्थानीय तहका प्रमुख/अध्यक्षहरु, जिल्ला स्थित सवै कार्यालयका कार्यालय प्रमुखहरु, प्रमुख प्रशासकीय अधिकृतहरु, लेखाप्रमुखहरु, कावासोती नगरपालिकाका सवै वडाका वडाध्यक्षहरु एवं सञ्चारकर्मीहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको सञ्चालन अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटबलका शाखा अधिकृत सुरेश भुसालले गर्नुभएको थियो ।

प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release