पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत र पूर्व सांसदसहित ६ जनाउपर बिगो रु. २५,००,०००।- कायम गरी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति :- मिति २०७६।१०।०१ गते ।
---------------------------------------------------

पूर्वाधार विकास कार्यालय, सिरहाका प्रमुख राजकुमार गोइत तथा पूर्व सांसद वि.पी. यादव र तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण मण्डल भन्ने हरि मण्डलसमेतले सप्तरी जिल्लाको अग्नीसाइर कृष्णसवरण गाउँपालिका २ र ३ मा पर्ने सडक ग्राभेल गर्न किर्ते व्यक्ति खडा गरी उपभोक्ता समिति गठन गरी पूर्वाधार विकास कार्यालय, सिरहासँग सम्झौता गरेको भन्ने उजुरीउपर अनुसन्धान हुँदा सुनियोजित तवरले फर्जी उपभोक्ता समिति गठन गरी सरकारी रकम हिनामिना गर्ने उद्देश्यले भ्रष्टाचारको कसुरमा प्रत्यक्ष संलग्नता देखिएका पूर्वाधार विकास कार्यालय, सिरहाका तत्कालीन कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर राजकुमार गोइत, सोही कार्यालयका नायव सुब्बा भागवत यादव, पूर्व सांसद वि.पी. भन्ने विश्वनाथ प्रसाद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरिनारायण भन्ने हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादव रहेकोमा वि.पी. भन्ने विश्वनाथ प्रसाद यादव, हरि मण्डल, विरेन्द्र कुमार मण्डल र कृष्ण कुमार यादवले एकआपसमा मिलेमतो गरी आफूहरुलाई गैरकानूनी लाभ पुर्‍याउने उद्देश्यले सप्तरी जिल्ला राजगढ गाउँपालिकास्थित मुतनी नदी सिंचाई आयोजनाको कार्य गर्न गठित उपभोक्ता समितिका पदाधिकारीहरुको नागरिकताको फोटोकपीमा अनधिकृत रुपमा विवरण सच्याएको तथा अग्निसाइर कृष्णसवरण गाउँपालिकाको इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारले भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरको नाउँमा सिफारिस माग भई आएबमोजिम सिफारिस गरिएको भन्ने व्यहोराको पत्रलाई अनधिकृत रुपमा सच्याई अग्निसाइर कृष्णसवरण गाउँपालिका वडा नं. २ अन्तर्गत इटहर्वादेखि कनौलीबाट आधारभूत विद्यालय इटहर्वासम्मको सडक निर्माणको लागि प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय जनकपुरधामबाट आएको बजेटबाट उक्त सडक निर्माण गर्नको लागि गठन भएको उपभोक्ता समितिद्वारा निर्माण कार्य संचालन गरी दिनुहुन भन्ने सिफारिस बनाई सम्झौताका लागि पूर्वाधार विकास कार्यालय सिरहा, सम्पर्क इकाई कार्यालय राजविराजमा पेश गरेको देखिंदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ बमोजिमको कसुर गरेको पुष्टि हुन आएको ।

साथै आरोपीहरु पूर्व सांसद वि.पी. भन्ने विश्वनाथ प्रसाद यादव, तत्कालीन राजपा केन्द्रीय सदस्य हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवसमेत ४ जनाले एउटा प्रयोजनको लागि गठित उपभोक्ता समितिको कागजात सच्याई गलत उपभोक्ता समिति गठन गरेको भन्ने लगायतका गलत कागजातहरु पेश गरी उल्लेखित विश्वनाथ प्रसाद यादवसमेत जना चार तथा राजकुमार गोइत र भागवत यादवसमेत जना छ भई गलत कागजातको आधारमा योजना सम्झौता गर्दासमेत अवास्तविक उपभोक्ता समितिका अध्यक्ष, कोषाध्यक्ष र सचिवजस्ता पदाधिकारीहरुको उपस्थिति बिना नै उक्त समितिको नाममा योजना सम्झौतामा सम्झौता मिति लगायतका खुलाउनुपर्ने महत्वपूर्ण विवरणसमेत नराखी सम्झौता गरे/गराएको तथा कृष्णकुमार यादवसमेतको नाममा सिद्धार्थ बैंक राजविराज शाखामा खाता खोल्ने सिफारिससमेत गरी/गर्न लगाई सरकारी सम्पत्तिको हानिनोक्सानी गर्ने उद्देश्यले सो कार्य गरेकोले आरोपीहरुमध्ये राजकुमार गोइत र भागवत यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुरको उद्योग गर्ने कसुर भएको र अन्य व्यक्तिहरु विश्वनाथ प्रसाद यादव, हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्ण कुमार यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिको कसुरको उद्योग भएकोले राजकुमार गोइत र भागवत यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम बिगो रु. २५,००,०००।– (पचीस लाख) कायम गरी सोही ऐनको दफा १७ ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (च) मा उल्लेखित सजायको आधा सजाय हुन र आरोपीहरु विश्वनाथ प्रसाद यादव, हरि मण्डल, विरेन्द्रकुमार मण्डल र कृष्णकुमार यादवलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २१ मा उल्लेख भएबमोजिम बिगो रु. २५,००,०००।– कायम गरी सोही ऐनको दफा ८ को उपदफा (४) मा उल्लेखित सजायको आधा सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ ।


प्रवक्ता
प्रदीपकुमार कोइराला

Download
  

Other Press Release

सशस्त्र प्रहरी बल, नेपाल, नं.३६ गण हे.क्वा. डोटी दरबन्दीका सशस्त्र प्रहरी निरीक्षक प्रकाश बहादुर चन्द उपर नक्कली शैक्षिक प्रमाणपत्र सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बखरी, पर्साका प्राथमिक तहका शिक्षक जनार्दन प्रसाद कानु उपर अध्यापन अनुमति पत्र नक्कली सम्बन्धी आरोप-पत्र दायर।
2024/04/22
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालिन कार्यकारी निर्देशक तथा नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) का निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेल उपर बिगो रु.२३,७५,४६,३२४।५७ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सुरक्षण मुद्रण केन्द्र, सिंहदरवारका तत्कालीन कार्यकारी निर्देशक (हाल निलम्बित) पदमा कार्यरत विकल पौडेल उपर झुट्टा विवरण पेश गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/21
सामाजिक विकास कार्यालय, डोल्पाका तत्कालीन कार्यालय प्रमुख धनञ्जय आचार्यसमेत ५ जनाउपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/16
जिल्ला मुगु, खानेपानी सिंचाई तथा उर्जा विकास कार्यालयका कार्यालय प्रमुख राजिव रिमालसमेत ५ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/14
ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड (साविक मध्यमाञ्चल ग्रामीण विकास बैंक, शाखा कार्यालय, टाँडी, चितवन) का बरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारी उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
2024/04/12