इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादव उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धमा आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।११।०७ गते ।
-------------------------------------------------
इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवले सेवाग्राहीसँग घरमा प्रयोग गरिने नुन, तेल र चिनी लगायतका सामानहरु नेपाल-भारत सिमा बजारबाट खरिद गरी ल्याउन सहज गराई दिन्छु भनी घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज राजकुमार यादवलाई सेवाग्राहीबाट रु.५,०००/- (पाँच हजार) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा इलाका प्रहरी कार्यालय सुखिपुर सिरहामा कार्यरत प्रहरी जवान राजकुमार यादवले सेवाग्राहीसँग घरमा प्रयोग हुने नुन, तेल र चिनी लगायतका सामान भारतबाट नेपाल ल्याउँदा सहज गरिदिएबापत घुस/रिसवत लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको स-प्रमाण पुष्टि हुन आएकोले निजलाई बिगो रु. ५,०००।–(पाँच हजार) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Download
Tweet