जिल्ला जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी. र जनता आधारभूत विद्यालयका प्रधानाध्यापक चन्द्रबहादुर बस्नेत उपर बिगो रु. ८,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७६।११।२२ गते ।
-------------------------------------------------
जिल्ला जाजरकोट जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर के.सी. ले सोही गाउँपालिकाको वडा नं. ५ मा बिभिन्न उपभोक्ता समितिमार्फत भएको सडक निर्माणको काम सम्पन्न पश्चात भुक्तानीका लागि सहजीकरण गरिदिने भनी घुस/रिसवत माग गरिरहेको भन्ने उजुरी एवं सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिई गएको टोलीद्वारा निज कृष्णबहादुर के.सी. र निजसँगै रहेका चन्द्रबहादुर बस्नेतसमेतलाई रु.८,००,०००।- (आठ लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा अध्यक्ष कृष्णबहादुर के.सी. र प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतले एक आपसमा मिलेमतो गरी सेवाग्राहीसँग सडक निर्माण काम सम्पन्न पश्चात भुक्तानीको लागि सहजीकरण गरिदिने भनी रु. ८,००,०००।– (आठ लाख) घुस/रिसवत माग गरी उक्त रकम बाँडी लिएको स-प्रमाण पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भए गरेको देखिंदा निजहरु अध्यक्ष कृष्णबहादुर के.सी. र प्रधानाध्यापक चन्द्रबहादुर बस्नेतलाई बिगो रु. ८,००,०००।– कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ङ) बमोजिम सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरीएको छ ।
प्रवक्ता
प्रदीपकुमार कोइराला
Tweet