जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेल उपर बिगो रु. ७२,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७८।०६।१८ गते।
------------------------------------------
जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेलले सडक निर्माण कार्यको ठेक्का सम्झौता बमोजिम कार्य सम्पन्न पश्चात भुक्तानी दिने क्रममा सेवाग्राहीसँग रु. ७२,०००।– घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिई गएको टोलीले निज विनोद कुमार पौडललाई सेवाग्राहीसँग रु. ७२,०००।– (बहत्तर हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा मिति २०७८।०४।२२ गते नियन्त्रणमा लिइएको थियो ।
अनुसन्धानको सिलसिलामा जिल्ला काठमाडौं, बुढानिलकण्ठ नगरपालिकाका सव-इन्जिनियर विनोद कुमार पौडेलले सेवाग्राहीसँग “Construction of Asphalt Road and RCC Road in the boundary of ward 6 & 7” को काम गरेवापत रु.७२,०००।– घुस/रिसवत माग गरी आफ्नो ओहोदा र पदीय दायित्वसमेत ख्याल नगरी बदनियतपूर्वक घुस/रिसवतवापतको रकम लिएको पुष्टि हुन आएकोले निज विनोद कुमार पौडेलले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर गरेको हुँदा निजलाई बिगो रु.७२,०००।- (बहत्तर हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (ग) बमोजिम सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐनको दफा १८ र दफा ३५ बमोजिम आज विशेष अदालत,काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
नारायण प्रसाद रिसाल
Tweet