प्रमुख आयुक्त माननीय नवीन कुमार घिमिरेको विदाई सम्पन्न


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त माननीय नवीन कुमार घिमिरे नेपालको संविधानको धारा २३८ को उपधारा (४) को खण्ड (ख) बमोजिम उमेरहदका कारण २०७७ भदौ २९ गतेबाट निवृत्त हुनुहुने भएकोले आयोगको कार्यालय परिसरमा २०७७ भदौ २८ गते आयोगका पदाधिकारी एवं कर्मचारीहरुको उपस्थितिमा एक बिदाई समारोहको आयोजना गरियो ।

बिदाई समारोहमा निवृत्त हुन लाग्नुभएका प्रमुख आयुक्त मा. नवीन कुमार घिमिरेलाई मा. आयुक्त डा. गणेशराज जोशी र मा. आयुक्त डा. सावित्री थापा गुरुङले पुष्पगुच्छा र मायाँको चिनो उपहार प्रदान गर्नुभयो । सो अवसरमा प्रमुख आयुक्त माननीय नवीन कुमार घिमिरेलाई आयोगका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट आयोगका सचिव श्रीमान् सुरेश अधिकारी, महाशाखा प्रमुख एवं कार्यालय प्रमुख एवं विज्ञहरुले पुष्पगुच्छा र शुभशब्दसहित बिदाई गर्नुभयो ।

समारोहमा बोल्दै प्रमुख आयुक्त मा. नवीन कुमार घिमिरेले आफूले आयोगमा आयुक्त र पछि प्रमुख आयुक्तको रुपमा करिव साढे पाँच बर्ष सेवा गर्ने अवसर पाएको र भदौ २९ गतेबाट ४३ बर्ष भन्दा बढीको सार्वजनिक जीवनबाट नागरिक जीवनमा फर्कन लागेको उल्लेख गर्दै यस दौरान आफूले सदैव एक निर्भिक प्रशासकको रुपमा काम गर्ने प्रयास गरेको बताउनु भयो । आफ्नो नेतृत्व अवधिमा आयोगले जति उपलब्धी हाँसिल गरेको छ ति सबै आयोग र आयोगमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरुको समूहिक प्रयत्न र योगदानको परिणाम भएको उल्लेख गर्दै कुनै कमजोरी भएको भए सोको सम्पूर्ण जिम्मेवारी आफूले लिने बताउनु भयो र यस अवधिमा आफुलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने तथा सकारात्मक एवं आलोचनात्मकसमेत प्रतिक्रिया सहित राय सल्लाह सुझाव दिने सबै प्रति धन्यवाद दिनुभयो । सो अवसरमा उहाँले आफूलाई विश्वास गरी जिम्मेवारी दिने सम्माननीय राष्ट्रपतिज्यू एवं सम्माननीय प्रधानमन्त्रीज्यू लगायत संवैधानिक परिषद्का विशिष्ट पदाधिकारीहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभयो ।

आयोगमा रहेर कार्यसम्पादन गर्दा सामाजिक सञ्जाल तथा संचार माध्यमबाट प्रस्तुत विषयहरु आवश्यकता अनुसार सूचनाको रुपमा ग्रहण गर्ने गरिएको तर त्यसबाट निर्देशित नहुने उल्लेख गर्दै नेपालको संविधानबाट आयोगलाई प्राप्त कार्यक्षेत्र भित्र रही प्रचलित ऐन, नियम, कार्यविधिसहितको कानूनको सीमाभित्र रहेर आयोगले आफ्नो काम गर्ने गरिएको वताउनु भयो । उहाँले आयोगको विकल्प भनेको अझ सुदृढ, सशक्त र प्रभावकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै हो भन्ने बुझ्नुपर्ने बताउनुभयो ।

आफू निवृत्त भएपनि आयोगका लागि आवश्यक परे सातै दिन चौविसै घण्टा आफ्नो ढोका खुल्ला रहने र उत्साहपूर्वक सहयोग गर्ने वचनबद्धता व्यक्त गर्दै आयोगको नयाँ नेतृत्वलाई सदा झै सहयोग गर्न सबैसंग आग्रह गर्नुभयो ।

सो अवसरमा बोल्दै आयोगका मा. आयुक्त डा. गणेशराज जोशीले प्रमुख आयुक्त मा. नवीन कुमार घिमिरेको नेतृत्व अवधिमा आयोग सामूहिक नेतृत्वमा क्रियाशील रहेको, आयोगको जस अपजस भागिदार पनि सामूहिक रुपमा नै रहेको, प्रमुख आयूक्तको स्पष्ट र निर्भिक कार्यशैलीले आफु अत्यन्त प्रभावित भएको र उहाँले देखाएको बाटोमा आयोग अविचलित चलिरहने बताउदै आगामी दिनमा प्रमुख आयूक्तज्यूको र उहाँको परिवारसमेतको जीवन सुस्वास्थ्य र सुखमय रहोस् भन्ने कामना गर्नुभयो ।

यसैगरी आयोगका मा. आयुक्त डा. सावित्री थापा गुरुङले प्रमुख आयुक्त मा. नवीन कुमार घिमिरेको कुशल नेतृत्वमा आयोगले यस अवधिमा इतिहासमा नै अविष्मरणीय उपलब्धी हाँसिल गरेको उल्लेख गर्दै उहाँको खरो र निर्भिक स्वभावले आयोगको क्रियाशीलतामा गति थप्नुका साथै आयोगले नयाँ परिचय दिन सक्षम भएको र यो अवधि भ्रष्टाचार नियन्त्रण र सुशासन अभिबृद्धिमा उल्लेख्य प्रगति भएको बताउनुभयो । आयोगले उहाँबाट भविष्यमा सदैव साथ सहयोग र हौसला पाइनै रहनेमा विश्वास्त रहदै उहाँले प्रमुख आयुक्त मा. नवीन कुमार घिमिरेले देखाउनु भएको गोरेटो छोड्ने छैनौ भन्ने बचनबद्धता व्यक्त गर्नुभयो । साथै मा. प्रमुख आयुक्तको निवृत्त जीवन एवं उहाँको परिवारको समेत जीवन सुखमय र सुस्वास्थ्य होस् भनी कामनासमेत गर्नुभयो ।

यस अघि आयोगका सम्पूर्ण कर्मचारीहरुको तर्फबाट आयोगका सचिव श्रीमान् सुरेश अधिकारीले आयोगका प्रमुख आयुक्त मा. नवीनकुमार घिमिरेले आयोगमा प्रमुख आयुक्त र आयुक्तसमेतमा गरी ५ बर्ष ५ महिना ९ दिन सेवा गरी ६५ बर्षको उमेर हदका कारण अवकास हुन लाग्नुभएको उल्लेख गर्दै आयोगको प्रतिष्ठा र गरिमा अभिबृद्धि गर्न उहाँको नेतृत्वमा आयोग सफल भएको बताउनु भयो । लामो प्रशासनिक अनुभवको जगमा माननीय प्रमुख आयुक्तको विधि र पद्दतिलाई मूलमन्त्रको रुपमा लिने स्वभाव, विषयबस्तुमा स्पष्ट मार्गदर्शन एवं कर्मचारीहरुलाई हुने स्पष्ट निर्देशनबाट आयोगको कार्यसम्पादनमा सहजता हुने गरेको बताउनु भयो । यस अवधिमा आयोगले कसैको अनुहार हेरेर होइन, वातावरणीय प्रभावबाट मुक्त भएर आफ्ना सम्पूर्ण काम कारवहीहरु स्पष्ट र स्थापित मापदण्डको आधारमा गर्ने गरेको र जसको परिणाम स्वरुप मुलुकमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न महत्वपूर्ण उपलब्धी हाँसिल भएको उल्लेख गर्दै माननीय प्रमुख आयुक्तले आयोगको मनोवल उच्च बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको बताउनु भयो । साथै उहाँले मा. प्रमुख आयुक्तको निवृत्त जीवन एवं उहाँको परिवारको समेत जीवन सुखमय र सुस्वास्थ्य होस् भनी कामना गर्नुभयो ।

Download Now