अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा.सावित्री थापा गुरुङज्यूको विदाई सम्पन्‍न


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्तको रुपमा ६ वर्षे पदावधि पुरा गरि सेवा निवृत्त भई जान लाग्नुभएका माननीय आयुक्त डा.सावित्री थापा गुरुङज्यूको विदाई कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेमकुमार राईज्यू, माननीय आयुक्तहरु किशोर कुमार सिलवालज्यू र जय बहादुर चन्दज्यूको समेत समुपस्थितिमा मिति २०७७/१२/१८ गते  सम्पन्न भयो ।

सो कार्यक्रममा आयोगका माननीय प्रमुख आयुक्त प्रेमकुमार राईज्यूले ६ वर्षे कार्यकालमा माननीय आयुक्तज्यूको यस आयोगमा ठुलो योगदान रहेको कुरा बताउनुभयो। वहाँको Experience sharing ले आगामी दिनमा आयोगको काममा सहयोग पुर्‍याउने कुरामा जोड दिनुभयो। आफ्नो मन्तव्यको क्रममा प्रमुख आयुक्तज्यूले  निवृत्त भई जान लाग्नुभएका माननीय आयुक्तमा सरलपना र सहज रुपमा घुलमिल हुने स्वभाव रहेको बताउँदै समग्र आयोग र आफ्नो व्यक्तिगत तर्फबाट भावि व्यक्तिगत एवम् पारिवारिक जीवन सुखमय, स्वस्थ एवम् सफल रहोस् भनि शुभकामना समेत व्यक्त गर्नुभयो।

विदाई कार्यक्रममा आयोगका माननीय आयुक्त किशोर कुमार सिलवालज्यूले माननीय आयुक्त डा सावित्री थापा गुरुङको आयोगमा रहँदाको अनुभव आफूहरुलाई मार्गदर्शन हुने भन्दै सु-स्वास्थ्य र दीर्घायुको कामना गर्नुभयो।

त्यस्तै उक्त समारोहमा आयोगका माननीय आयुक्त जय बहादुर चन्दज्यूले जीवनमा आगमन सुखद्, विदाई दुखद् हुने भएतापनि आफ्नो कार्यकाल पुरा गरि जाने सौभाग्य पाएकोमा माननीय आयुक्त डा सावित्री थापा गुरुङ भाग्यमानी रहेको कुरा बताउनुभयो। माननीय आयुक्त डा सावित्री थापा गुरुङको व्यवहार राम्रो र सर्वप्रीय रहेको बताउँदै भावी पारिवारिक एवम् सामाजिक जीवन सुखमय होस् भनि शुभकामना व्यक्त गर्नुभयो।

विदाई समारोहमा आफ्नो ६ वर्षे पदावधि पुरा गरि अनिवार्य अवकासमा जान लाग्‍नुभएका माननीय आयुक्त डा.सावित्री थापा गुरुङज्यूले भ्रष्टाचार  नियन्त्रण गरि सुशासन कायम गर्न जुन अवसर मिल्यो यसमा आफूलाई गर्व महसुस भएको कुरा बताउनुभयो। आफ्नो कार्यकालमा प्रमुख आयुक्त लगायत सम्पूर्ण पदाधिकारी र कर्मचारीले देखाएको सद्भाव र गरेको सहयोग प्रति हार्दिक आभार एवम् धन्यवाद व्यक्त गर्नुभयो। अनुशासन आयोगको अनुकरणीय पक्ष रहेको बताउँदै सम्पुर्ण कर्मचारीहरुलाई अनुशासनपूर्वक काम गर्न र आयोगलाई सुशासन कायम गर्न सफलता मिलोस् भनि शुभकामना समेत व्यक्त गर्नुभयो। साथै विदाई मन्तव्यकै क्रममा वहाँले आगामी दिनमा आफ्नो काममार्फत आयोगले Demonstrative Effect दिन सकोस् भनि शुभेच्छा समेत व्यक्त गर्नुभयो।

उक्त कार्यक्रममा आयोगका सचिव श्री तोयम रायाज्यूले माननीय आयुक्त डा.सावित्री थापा गुरुङज्यू विगत १४ वर्षमा आफ्नो ६ वर्षे कार्यकाल पूरा गरि जान लाग्नुभएका पहिलो आयुक्त रहनुभएको तथा आयोगको ईतिहासकै पहिलो महिला आयुक्त समेत रहेको कुरा बताउनुभयो साथै निवृत्त जीवन सुखमय होस् भनि कामना व्यक्त गर्नुभयो।

विदाई समारोहमा माननीय आयुक्त डा सावित्री थापा गुरुङज्यूलाई आयोगका माननीय प्रमुख आयुक्तज्यू, माननीय आयुक्तज्यूहरु, आयोगका श्रीमान् सचिवज्यू, आयोगका महाशाखा प्रमुख एवं अन्य कर्मचारीहरुले पुष्पगुच्छा र शुभशब्दसहित विदाई गर्नुभयो। उक्त विदाई कार्यक्रममा आयोगमा कार्यरत कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।