धादिङ्गमा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


मिति २०७६।०५।२९ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा भ्रष्टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम धादिङ्ग जिल्लाको धादिङ्ग बेशीमा सम्पन्‍न भएको छ । आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूको अध्यक्षता र जिल्ला समन्वय समिति धादिङ्गका प्रमुख जगन्‍नाथ नेपालको प्रमुख आतिथ्यतामा सञ्‍चालन भएको उक्त कार्यक्रममा निलकण्ठ नगरपालिका प्रमुख भीमप्रसाद ढुङ्गाना, धुनीबेंशी नगरपालिका प्रमुख बालकृष्ण आचार्य, जिल्ला समन्वय समितिका उपप्रमुख बिन्दा बरामु नेपाली, आयोगका सहसचिव प्रदिपकुमार कोइरला, आयोगको हेटौंडा कार्यालयका प्रमुख हुमकला पाण्डे, जिल्ला स्थित ११(एघार) वटै गाउँपालिकाका उपाध्यक्षहरु, जिल्लास्थित कार्यालयहरुका प्रमुखहरु, पत्रकार तथा सञ्‍चारकर्मी लगायत अन्य सरोकारवालाहरु सहित करिव १५०(एक सय पचास) जनाको उपस्थिति रहेको थियो । आयगको प्रवर्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगका सहसचिव प्रदिपकुमार कोइराला र आयोगको कार्यालय हेटौंडाकी प्रमुख हुमकला पाण्डेले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने सो प्रस्तुती पश्‍चात भएको छलफल कार्यक्रममा सहभागीहरुले सक्रियताका साथ भ्रष्‍टाचारका गतिविधिहरु र आयोगको काम कारवाहीको बारेमा जिक्षासा राख्नुभएको थियो । कार्यक्रमको मन्तव्य शत्रमा सञ्‍चारकर्मीको तर्फबाट पत्रकार महासंघ धादिङ्गका अध्यक्षले भ्रष्टाचार नियन्त्रणमा संचारमाध्यमको सकरात्मक भुमिका र हुनुपर्ने बताउनुभयो भने उपप्रमुख तथा उपाध्यक्षको तर्फबाट बोल्दै सिद्धलेक गाउँपालिकाकी उपाध्यक्ष कमला शर्माले भ्रष्‍टाचार विरुद्ध सहकार्यमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ्गले अन्य विषयमा असहमति रहेपनि भ्रष्‍टाचार विरुद्धको अभियानमा एकमत हुनु जरुरी रहेको बताउनुभयो । मन्तव्यकै क्रममा धुनिवेशी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्यले काम गर्नेको मनोवल नगिराउन वेनामी उजुरीलाई व्यवस्थित गरी उजुरीकर्ताको नाम अनिवार्य गर्नुपर्ने बरु उनीहरुको गोप्यता आयोगले कायम गर्नु पर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि जगन्‍नाथ नेपालले यस्ता कार्यक्रमले सबैलाई सचेत गराउने र भ्रष्‍टाचार नियन्त्रणमा एकजुट गराउने बताउनुभयो। 
अन्तमा कार्यक्रमका अध्यक्ष तथा आयोगका माननीय आयुक्त डा. गणेशराज जोशीज्यूले सहभागीहरुको जिज्ञासालाई समेत सम्बोधन गर्दै आयोगको तीन खम्बे रणनीतिमा जोड दिँदै उजूरी, छानविन तथा तामेली प्रक्रिया व्यवस्थित गर्ने प्रयास भैइरहेको बताउनुभयो । स्थानीय तहमा कतिपय स्थानमा बुझाईको कारणले समस्या आएको जस्तो देखिएको बताउँदै सुशासनको लागि पारदर्शिता, जवाफदेहीता र सदाचारको आवश्यकता रहेको बताउनुभयो । अख्तियारको कारणले काम नरोक्न तथा विधिसम्मत कार्यहरु निर्वाध रुपमा अगाडी बढाउन आवश्यक रहेको दर्शाउदै साना-ठूला विषय भनेर आयोगले नछुट्याइ विषयलाई Value  तथा महत्व मा हेर्ने गरेको बताउनुभयो । भ्रष्‍टाचारमा कहिँ कतै संलग्न भएको पाइएमा तथा समय व्यतित भैसकेको अवस्थामा समेत अनुसन्धान हुन तथा दोषी देखिएमा कारवाही हुनबाट कोही बच्‍न नसक्ने भन्दै भ्रष्‍टाचार नियन्त्रणमा सबैको सहकार्य आवश्यक रहेको बताउनु भयो ।