पाल्पामा भ्रष्‍टाचार नियन्त्रण र सुशासन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्‍न


मिति २०७६।०७।०५ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको आयोजनामा भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन सम्बन्धी १(एक) दिने अन्तरक्रिया कार्यक्रम पाल्पा जिल्लाको सदरमुकाम तानसेन स्थित जिल्ला प्रशासन कार्यालय, पाल्पाको सभाहलमा सम्पन्‍न भएको छ । सम्मानित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका श्रीमान् सचिव महेश्‍वर न्यौपानेज्यूको प्रमुख आतिथ्यता तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका प्रमुख तारानाथ अधिकारीज्यूको अध्यक्षतामा सञ्‍चालन भएको उक्त कार्यक्रममा जिल्ला स्थित स्थानीय तहका प्रमुख एवं अध्यक्षहरु, आयोगका सहसचिव काली प्रसाद पराजुली, पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, जिल्लास्थित सरकारी कार्यालयहरुका प्रमुखहरु, तानसेन नगरपालिकाका वडाअध्यक्षहरु, सवै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरु, योजना तथा आर्थिक प्रशासन शाखा प्रमुखहरु, पत्रकार तथा सञ्‍चारकर्मीहरु लगायत अन्य सरोकारवालाहरु सहित १११(एक सय एघार) जनाको उपस्थिति रहेको थियो ।
आयोगको प्रवर्द्धनात्मक रणनीति अन्तरगत संचालित उक्त कार्यक्रममा आयोगका सहसचिव काली प्रसाद पराजुलीले सहभागीहरुलाई कार्यक्रममा स्वागत गर्दै पहिलो कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने दोस्रो कार्यपत्र आयोगको कार्यालय बुटवलका तर्फबाट उपसचिव रमेश ढकालले प्रस्तुत गर्नुभएको थियो । दुईवटा कार्यपत्रहरुले समग्रतामा आयोगको ऐतिहासिक पृष्‍ठभूमी, संवैधानिक, कानुनी तथा संरचनागत व्यवस्था, संस्थागत रणनीति, भ्रष्‍टाचारजन्य कसुरहरुको बारेमा जानकारी, आयोगको छानवीन तथा अनुसन्धान प्रकृयाहरु, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गतिविधिहरु, नेपालमा भ्रष्‍टाचारको वर्तमान अवस्था, अनुसन्धान तथा छानवीनका क्रममा आइपर्ने समस्याहरु तथा चुनौतीहरु जस्ता विषयवस्तु समेटिएको थियो । कार्यक्रमको मन्तव्य शत्रमा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले पाल्पा जिल्लामा सुशासन प्रर्वद्धनको लागि सरोकारवालाहरुसँग समय समयमा छलफल तथा सर्वपक्षीय वैठक सञ्‍चालन हुँदै आइरहेको बताउँदै भ्रष्‍टाचार नियन्त्रणको कार्यमा आफूहरुले आयोगलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अतिथिको रुपमा उपस्तथित माथागढी गाउँपालिका, पाल्पाका अध्यक्ष सन्तोष थापाले कहिलेकाही प्रतिशोधको कारणले पनि उजुरी दिँदा विकास निर्माणका कार्यहरुमा बाधा पुग्‍ने गरेको बताउनु हुँदै आयोगले गर्ने यस्ता कार्यक्रमले सुशासन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने महसुश गर्दै कार्यक्रमको सरहना गर्नुभयो भने अतिथि तानसेन नगरपालिकाकी कार्यवाहक प्रमुख लक्ष्मी देवी पाठकले आयोगले भ्रष्‍टाचार नियन्त्रणमा माथिदेखि तलसम्म निगरानी बढाउनुपर्ने बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका श्रीमान् सचिव महेश्‍वर न्यौपानेज्यूले  सहभागीहरुको जिज्ञासालाई समेत सम्बोधन गर्दै आयोगले भ्रष्‍टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा प्रवर्द्धनात्मका, निरोधात्मक तथा दण्डात्मक कार्यहरु गर्दै आइरहेको बताउँदै भ्रष्‍टाचारलाई समाजको रोगको संज्ञा दिनुभयो । उहाँले स्थानीय तहले सार्वजनिक खरिदका कार्यहरु गर्दा आफै कानून बनाएर होइन की संघीय सार्वजनिक खरिद ऐन अन्तरगत रहेर कार्य गर्न निर्देशन दिनु हुँदै सुशासन प्रवर्द्धनको लागि सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहीता र सदाचारको जस्ता तत्वहरुको आवश्यकता रहेको बताउनुभयो । अन्तमा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका प्रमुख तारानाथ अधिकारीज्यूले अख्तियारको कारणले काम नरोक्न तथा विधिसम्मत कार्यहरु निर्वाध रुपमा अगाडी बढाउन आवश्यक रहेको बताउँदै सुशासन प्रवर्द्धनमा पाल्पा जिल्ला स्थीत सम्पूर्ण स्थानीय तहका प्रमुख तथा कार्यालय प्रमुखहरुसँग सहकार्यको अपेक्षा राख्दै कार्यक्रम समापन गर्नुभयो ।


अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलमा कार्यरत कर्मचारीहरुलाई निर्देशन
मिति २०७६।०७।०३ गते सम्मानीत अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौका श्रीमान् सचिव महेश्‍वर न्यौपाने तथा सहसचिव काली प्रसाद पराजुलीज्यूले आयोगको कार्यालय बुटवलमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आयोगको आचार संहितामा रही कार्य गर्न निर्देशन दिनु हुँदै आयोगमा कार्यरत जुनसुकै तह वा दर्जाका कर्मचारीहरुले गलत गरेमा आयोगले त्यस्ता कर्मचारीहरुलाई तत्काल कारवाही गर्ने बताउनुभयो ।
निर्देशनकै क्रममा उहाँहरुले आयोगले गर्ने अनुसन्धान कार्यलाई सामान्य नठानी हरेक पक्षहरुलाई एक एक केलाई अनुसन्धान गर्न निर्देशन दिनुभयो भने कार्यालयमा कार्यरत हरेक अनुसन्धान अधिकृतसँग प्रत्यक विस्तृत अनुसन्धानका फाइलहरुको बारेमा जानकारी लिनुहुँदै के कस्ता समस्या रहेका छन् भन्‍ने विषयमा सूचना लिनु भयो । साथै सम्पुर्ण फाइलको अनुसन्धानको सहजिकरणको लागि कार्यालय प्रमुखले भूमिका खेल्नुपर्ने बताउनुभयो । अन्तमा, उहाँले अनुसन्धान कार्यमा स्रोत र साधनहरु उपलब्ध गराउने र कर्मचारीहरुलाई सेवा सुविधा उपलब्ध गराउने कुराहरुमा आयोग जहिले पनि अगाडि रहने बताउनुभयो ।