मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदारद्वय हरिचन्द्र पाण्डे, रतन बहादुर जि.सी.समेत ४ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८२।०३।०२ गते।
------------------------------------------
जिल्ला बाँके, मालपोत कार्यालय कोहलपुरको मुद्दाफाँटमा कार्यरत खरिदार हरिचन्द्र पाण्डे समेतले जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी लेखापढी व्यवसायी (विचौलिया) मार्फत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले निज खरिदार हरिचन्द्र पाण्डेलाई विचौलिया मार्फत सेवाग्राहीसँग रु.२०,०००।– (बीस हजार रुपैयाँ) घुस/रिसवत लिई तिवारी रेष्टुरेण्ट संचालक घनश्याम तिवारीलाई राख्न दिएको अवस्थामा उक्त रकमसहित निज खरिदार हरिचन्द्र पाण्डे, लेखापढी व्यवसायी गर्ने शान्ती पुन र घनश्याम तिवारीलाई नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा मालपोत कार्यालय कोहलपुर, बाँकेका खरिदार हरिचन्द्र पाण्डे, खरिदार रतन बहादुर जि.सी., लेखापढी व्यवसाय गर्ने शान्ति पुन र घनश्याम तिवारी समेतको आपसी मिलेमतोमा जग्गाको मोठ भिडाउने कार्यमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.२०,०००।- घुस/रिसवत लिए लिन लगाएको हुँदा राष्ट्रसेवकहरू हरिचन्द्र पाण्डे र रतन बहादुर जि.सी.लाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.२०,०००।-(बीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिइएको छ।
साथै, प्रतिवादीहरु शान्ति पुन र घनश्याम तिवारीले सेवाग्राहीसँग घुस/रिसवत रु.२०,०००।–माग गरी गराई उक्त रकम लेखापढी व्यवसाय गर्ने शान्ति पुनले लिई खरिदार हरिचन्द्र पाण्डेलाई दिए पश्चात निज हरिचन्द्र पाण्डेले प्रतिवादी घनश्याम तिवारीलाई दिएकोमा उक्त घुस/रिसवत रकम रु.२०,०००।- सहित निज घनश्याम तिवारी पक्राउ परेको देखिएकोबाट सेवाग्राहीलाई मोलाहिजा गरी आफ्नो लागि र राष्ट्रसेवकलाई उक्त रिसवत रकमको लाभ लिन दिनका निमित्त लिई दिई सहयोग पुर्याउने कार्य गरेको हुँदा निजहरु शान्ति पुन र घनश्याम तिवारी उपर भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा बिगो रु.२०,०००।-(बीस हजार रुपैयाँ) कायम गरी सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरे वमोजिम भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया