यातायात व्यवस्था कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बम र विचौलिया नीरक बहादुर शाही उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०७९।०६।३० गते ।
-------------------------------------------------
सुर्खेत जिल्ला, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ७, स्थित यातायात व्यवस्था कार्यालय कर्णाली प्रदेश, सुर्खेतमा कार्यरत मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीसँग ब्लुबुक नविकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिनको लागि घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, सुर्खेतबाट खटिई गएको टोलीले विचौलिया नीरक बहादुर शाही र मेकानिकल इन्जिनियर दिपक बमलाई सेवाग्राहीबाट रु.३,०००।- (तीन हजार रुपैयाँ) घुस/रिसवत वापतको रकम लिइसकेको अवस्थामा मिति २०७९।०५।१० गते नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय, कर्णाली प्रदेश, वीरेन्द्रनगर सुर्खेतका मेकानिकल इन्जिनियर दिपक बमले सेवाग्राहीको सवारी साधन जाँचपास गराउनका निमित्त विचौलिया नीरक बहादुर शाहीमार्फत रु.३,०००।–घुस/रिसवत माग गरी लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३(१) बमोजिमको कसुर भएकोले निज मेकानिकल इन्जिनियर दिपक बमलाई बिगो रु.३,०००।– (तीन हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद तथा बिगोबमोजिमको जरिवानाको मागदाबी लिइएको छ ।
विचौलिया नीरक बहादुर शाहीले सेवाग्राहीको ब्लुबुक नवीकरण, जाँचपास नविकरण र रुट पर्मिट नविकरण गरिदिने भनी रु.५३,०००।–लिएर रु.४२,६४०।–को राजश्व रसिद काटी मेकानिकल इन्जिनियर दिपक बमलाई जाँचपास गराउन रु.३,०००।–घुसबापत दिएको र बाँकी रु.७,३६०।–आफुले घुस रिसवतबापत लिएको हुँदा निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुर भएकोले निज विचौलिया नीरक बहादुर शाहीलाई बिगो रु.१०,३६०।– (दस हजार तीन सय साठ्ठी रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (क) बमोजिम कैद तथा बिगोबमोजिम जरिवानाको सजाय हुन मागदावी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १८ र दफा ३५ (१) बमोजिम आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
श्याम प्रसाद भण्डारी
Download Download