अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव डा. राम प्रसाद घिमिरेको विदाई तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवआगन्तुक सचिव श्री रामेश्वर दंगालको पदभारण ग्रहण एवं स्वागत कार्यक्रम सम्पन्न।


मिति: २०७९।०९।२२  गते
--------------------------------
नेपाल सरकार मन्त्रिपरिषदको मिति २०७९/०९/२१ गतेको निर्णयानुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट अर्थ मन्त्रालयको राजश्व सचिवमा सरुवा भई जान लाग्नु भएका सचिव डा. राम प्रसाद घिमिरेको विदाई कार्यक्रम र आयोगमा सरुवा भई आउनु भएका सचिव श्री रामेश्वर दंगालको स्वागत कार्यक्रम माननीय प्रमुख आयुक्त प्रेम कुमार राई, माननीय आयुक्तहरु किशोर कुमार सिलवाल, जय बहादुर चन्द, डा. हरि पौडेल र डा. सुमित्रा श्रेष्ठ अमात्य समेतको समुपस्थितिमा सम्पन्न भयो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा नेपाल सरकारको मिति २०७९/०९/२१ को निर्णयानुसार सरुवा भई आउनु भएको सचिव श्री रामेश्वर दंगालले २०७९/०९/२२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सचिवको पदभार ग्रहण गर्नुभयो।
नवआगन्तुक सचिव श्री रामेश्वर दंगालले नयाँ जिम्मेवारी प्रति गौरवान्वित भएको महशुस गर्दै उच्च मनोवल र सदाचारिताका साथ आयोगले शुरु गरेका सुधार कार्यहरुलाई निरन्तरता दिने बताउनु हुँदै आयोगको मार्गदर्शन अनुसार अगाडि बढ्ने बताउनुभयो।
आयोगबाट सरुवा भई जान लाग्नु भएका सचिव डा. राम प्रसाद घिमिरेले आयोगमा ३ महिना १७ दिनको अवधिमा माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरुको मार्गदर्शन तथा उत्प्रेरणाप्रति हार्दिक आभार व्यक्त गर्दै नयाँ जिम्मेवारी तथा चुनौतीहरुको सामना गर्न आफू प्रतिवद्ध रहेको धारणा ब्यक्त गर्नु भयो।उहाँले उक्त कार्यक्रममा आयोगले अगाडि बढाएका सुधारका कार्यहरुले आगामी दिनमा समेत निरन्तरता पाउनेमा आफू विश्वस्त रहेको बताउनु भयो।
कार्यक्रममा बोल्दै माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राईले विदाई भएर जानुहुने सचिव र यस आयोगमा आउनु भएका सचिव दुवै जना सदाचारी, असल नेतृत्व क्षमता र बहुआयमिक ज्ञान भएको र उहाँहरुको अनुभवले समेत आयोगको कार्य सम्पादनमा अझ प्रभावकारिता आउने विचार व्यक्त गर्नु भयो। उहाँले सरुवा भएर जानु हुने राजश्व सचिवले सुशासन कायम गर्दै राजश्व चुहावट नियन्त्रण गर्न, पूँजीगत खर्च बढाउन र राजश्व संकलन गर्न सफल हुने कुरामा विश्वस्त रहेको समेत बताउनु भयो।यस अवसरमा आयोगले सुधारका कार्यहरु अघि बढाएको केही कार्यविधिहरु परिमार्जन गरिएकोले सोही अनुरुप अनुसन्धान र अभियोजन तथ्यपूर्ण बनाउदै लैजाने कुरामा जोड दिनु भयो।
कार्यक्रममा आयोगका सह सचिव श्री कोशहरि निरौलाले सम्पूर्ण कर्मचारीहरुको तर्फबाट सचिवहरुलाई स्वागत तथा विदाई गर्दै सबै कर्मचारीहरुको तर्फबाट नवआगन्तुक सचिवलाई मन, बचन र कर्मले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो।
 
सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release