सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति:- मिति २०८०।०८।०७ गते ।
----------------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गालमा  मिति २०८० मंसिर ६ र ७ गते सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कार्यहरूको प्रभावकारिता सम्बन्धमा सार्वजनिक नियामक निकायहरू तथा सार्वजनिक संस्थानहरूसँग दुई दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमको पहिलो दिन आयोगका पदाधिकारीहरू र सार्वजनिक नियामक निकायका प्रमुखहरूको समुपस्थितिमा आयोगले दिएका सुझावहरूको कार्यान्वयनबाट भएका उपलब्धिहरू, सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भएको थियो । कार्यक्रममा आयोगका तर्फबाट प्रस्तुतीकरण समेत भएको थियो। 

कार्यक्रमको दोस्रो दिन आयोगका पदाधिकारीहरू, संस्थान सम्बद्ध विषयगत मन्त्रालयका सचिवहरू र सार्वजनिक संस्थानका प्रमुखहरूको समुपस्थितिमा सेवा प्रवाहमा देखिएका समस्या र समाधानका लागि भएका प्रयासहरूका बारेमा छलफल भयो । कार्यक्रममा आयोग र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको तर्फबाट छुट्टाछुट्टै प्रस्तुतीकरण भयो ।

छलफलपछि सहभागी निकाय तथा संस्थाका प्रमुखहरूलाई माननीय प्रमुख आयुक्त र माननीय आयुक्तहरूबाट सार्वजनिक खरिद, सार्वजनिक सेवा प्रवाह, नियमनकारी भूमिकालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने, कानुनको अक्षरशः पालना गर्नुपर्ने, आयोगबाट दिइएका सुझावहरूको गम्भीरतापूर्वक कार्यान्वयन गर्नुपर्ने, संस्थानहरूको व्यवस्थापकीय क्षमता अभिवृद्धि गरी उत्पादकत्व बृद्धि गर्नेतर्फ लाग्नुपर्ने, विषयगत मन्त्रालयहरूले सहयोग र सहजीकरणको भूमिका निर्वाह गर्नुपर्ने तथा सार्वजनिक निकायहरूले भ्रष्टाचार नियन्त्रण तथा संस्थागत सुशासन प्रवर्द्धन गर्ने कार्य गर्नुपर्ने लगायतका विषयमा आवश्यक सुझाव तथा निर्देशनसहित कार्यक्रम सम्पन्न भयो ।  

प्रवक्ता
भोला दाहाल

Download Download