अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस समारोह सम्पन्न ।


प्रेस विज्ञप्ति:- मिति २०७७।१०।२८ गते ।
----------------------------------------------------------

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३० औं स्थापना दिवस सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूको प्रमुख आतिथ्यमा आज माघ २८ गते एक कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न भयो । यसै अवसरमा सम्माननीय राष्ट्रपतिज्यूवाट भ्रष्टाचार नियन्त्रण गरी राज्यलाई समृद्धिको दिशामा अघि बढाउने तथा सुशासन प्रवर्द्धनमा सहयोग पुर्‍याउने गरी स्थापित आयोगले आफ्नो स्थापनाकालदेखि हालसम्म निर्वाह गर्दै आएको भूमिकाले सार्वजनिक उत्तरदायित्व, सुशासन र समृद्धि तथा सेवाप्रवाहमा सकारात्मक प्रभाव पारेको कुरा व्यक्त गर्नुभयो । कार्यक्रममा बोल्दै सम्माननीय राष्ट्रपतिज्यूले भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धन तथा आर्थिक समृद्धि मार्फत राज्यको पहिचानलाई अन्तरार्ष्ट्रिय क्षेत्र र समुदायसम्म पुर्‍याउने कार्यमा राजनीति, प्रशासन र आम नागरिकहरु सबैको उत्तिकै र समान भूमिका रहने तथा यस कार्यमा आयोगलाई सबैले सहयोग गर्नु पर्ने कुरा समेत व्यक्त गर्नु भयो । साथै भ्रष्टाचार र अख्तियारको दुरुपयोग  विरुद्ध परेका उजुरीको छानविन र अभियोजनमा आयोगले विगतमा झैं निष्पक्षता, तटस्थता र निर्भिकतालाई मूलमन्त्र मानी कार्य गर्नेछ र राज्यलाई सुशासन र समृद्धिको मार्गमा सफलतापूर्वक अघि बढ्न महत्वपूर्ण योगदान दिनेछ भन्दै आयोगलाई आगामी दिनमा अझ सशक्त रुपमा अगाडी बढ्न शुभकामना समेत व्यक्त गर्नुभयो ।

समारोहमा विशिष्ट अतिथिको रुपमा बोल्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले “समृद्ध नेपाल, सुखी नेपाली” को आकांक्षा पूरा गराउन लोकतान्त्रिक, सभ्य, सुशासनयुक्त र सामाजिक न्यायसहितको समाज निर्माण गर्न आवश्यक रहेको र यसका लागि राज्यका सबै निकायहरू उत्तिकै जिम्मेवार भई अगाडी बढ्नुपर्ने कुरा उल्लेख गर्नुभयो ।“भ्रष्टाचार साझा शत्रु” भन्दै यसप्रति राज्यले शून्य सहनशीलताको नीति अवलम्वन गरेको, यो Lip Service नभई व्यवहारमा उतार गर्नुपर्ने र यसका लागि प्रत्येक व्यक्ति भ्रष्टाचारजन्य प्रवृतिवाट मुक्त हुनुपर्ने कुरा बताउनुभयो । भ्रष्टाचार गरी कार्वाही गर्नु भन्दा भ्रष्टाचार नै हुन नदिन तथा आयोगले दायर गर्ने मुद्दामा निर्भिक, निडर र निष्पक्ष छानविन, अनुसन्धान र तहकिकात गरी असफल नहुने गरी कार्य गर्नुपर्ने कुरामा जोड दिनुभयो । सम्माननीय प्रधानमन्त्रीज्यूले भ्रष्टाचार नियन्त्रणमा आयोगले गरेको सकारात्मक कार्यको प्रसंशा गर्दै यसका लागि सरकारका तर्फवाट आवश्यक सबै प्रकारको सहयोग गर्न प्रतिवद्ध रहेको कुरा समेत स्पष्ट पार्नुभयो । सरकारले कुनै पनि स्वतन्त्र निकायहरूलाई काम गर्ने क्रममा हस्तक्षेप नगर्ने बताउँदै सम्माननीय प्रधानमन्त्रीज्यूले आयोगलाई स्वतन्त्र र निष्पक्ष भई काम गर्ने गरी भ्रष्टाचार बिरूद्धको अभियानमा अझ थप सफलता मिलोस भनी शुभकामना समेत व्यक्त गर्नुभयो । 

उक्त कार्यक्रममा मन्तव्य राख्ने क्रममा आयोगका प्रमुख आयुक्त माननीय प्रेम कुमार राईज्यूले आयोगका विगतका सफलता कार्यहरू उल्लेख गर्दै आयोगको सुझाव र निर्देशन पालना गर्दै सार्वजनिक सेवा प्रवाह गर्ने अग्रभागका कार्यालयहरुमा अनलाईन सेवाको शुरुवात भई सेवाग्राही सहजीकरणका पद्दतिको अनुशरण हुन थालेको बताउनुभयो ।आयोगको विशिष्टिकृत कार्य बारे थप प्रकाश पार्दै प्रमुख आयुक्तज्यूले “अनुसन्धान तथा अभियोजन पद्धतिलाई वस्तुनिष्ठ बनाउन आयोगले प्राविधिक परीक्षण लगायत आधुनिक पद्धतिलाई अनुशरण गरेको, प्राप्त हुने उजुरीलाई विना पूर्वाग्रह तथ्य र प्रमाणका आधारमा अनुसन्धानको प्रक्रियामा लैजाने गरिएको तथा भ्रष्टाचार नियन्त्रणका लागि आयोगले विभिन्न प्रवर्द्धनात्मक कार्य एवम् संस्थागत क्षमता विकास समेत अवलम्बन गरेको” कुरा बताउनुभयो । जनताका आधारभूत सेवा लगायतका क्षेत्रमा हुने अनियमितता, घुसखोरी, विचौलिया धन्दा रोक्न सुक्ष्म निगरानी बढाउने र गलत कार्य एवं अनियमिततालाई कारवाहीको दायरामा लैजाने, द्रुत निगरानी टोली, सुक्ष्म अनुसन्धान टोली खटाई सेवा प्रवाह गर्ने निकायका अधिकारीलाई जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउने विषय आयोगको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै आयोगलाई सरकार, सरोकारवाला निकाय र जनतावाट सहयोग प्राप्त हुने अपेक्षा समेत माननीय प्रमुख आयुक्तले व्यक्त गर्नुभयो ।

कार्यक्रममा उपस्थित सम्माननीय राष्ट्रपतिज्यू लगायत सबैलाई स्वागत गर्दै आयोगका माननीय आयुक्त डा. सावित्री थापा गुरूङले भ्रष्टाचार नियन्त्रण कठिन तर असंभव नभएको कुरा बताँउदै नेपाल सरकारको तर्फवाट आयोगलाई सधै सहयोग प्राप्त भैरहने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा सम्माननीय राष्ट्रपतिज्यूले आयोगमा उत्कृष्ट कार्य गर्ने २१ जना कर्मचारीहरू तथा सम्माननीय प्रधानमन्त्रीज्यूले सुशासन र भ्रष्टाचार नियन्त्रण सम्वन्धी निवन्ध प्रतियोगीताका उत्कृष्ट छात्र-छात्रालाई पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा आयोगका संक्षिप्त गतिविधिहरू र प्रगतिलाई झल्काउने प्रस्तुति समेत भयो ।

नारायण प्रसाद रिसाल
प्रवक्ता

Download
  

Other Press Release

Error
Whoops, looks like something went wrong.