अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औ स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति :- मिति २०७९।१०।२८ गते ।
-------------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३२औ स्थापना दिवसको मूल समारोह कार्यक्रम सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।यसै अवसरमा सम्माननीय राष्ट्रपतिवाट मुलुकमा उपलब्ध स्रोतसाधनको अधिकतम परिचालन गरी सबैले नैतिकवान, सदाचारी र ईमान्दार भई कार्य गर्न सकेमा भ्रष्टाचार न्यूनीकरण हुने विश्वास ब्यक्त गर्नुभयो।भ्रष्टाचार राज्य विरुद्बको अपराध भएको र यसले मुलुकको सम्वृद्बि र दिगो विकासमा बाधा पुर्‍याउने भएकोले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा सम्पूर्ण राज्य संयन्त्र एवम् सरोकारवाला एकजुट हुन जरुरी रहेको बताउनु भयो।
आयोगले निरोधात्मक, प्रवर्द्धनात्मक, उपचारात्मक र संस्थागत क्षमता विकासको रणनीतिको प्रभावकारी कार्यान्वयनबाट भ्रष्टाचार नियन्त्रण एवं सुशासन प्रवर्द्बनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा सार्वजनिक निकाय र पदाधिकारीलाई भ्रष्टाचारका संभाव्य जोखिमकाबारेमा बोध गराई भ्रष्टाचार नियन्त्रण गर्न अझ बढी अग्रणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिंदै आयोगलाई संवैधानिक दायित्व पूरा गर्न सफलता मिलोस् भनी शुभकामना व्यक्त गर्नुभयो।
समारोहका विशिष्ट अतिथि सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार नियन्त्रण गरी मुलुकको विकास, नागरिक हित र सुशासन कायम गर्न आयोगले स्वतन्त्र, निष्पक्ष र निर्भीकताका साथ अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउने विश्वास व्यक्त गर्नुभयो।आयोगलाई जिम्मेवारी निर्वाह गर्ने सवालमा सरकारले हर प्रकारको सहयोग गर्ने र भ्रष्टाचारको विरुद्ब सरकार हदैसम्म निर्मम हुने समेत बताउनुभयो।साथै, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने राज्यको नीतिलाई व्यवहारमा रुपान्तरण गर्न तीनै तहका सरकार, नागरिक समाज, संचार जगत एवम् आमनागरिक सबैसँग समन्वय, सहयोग र सहकार्यको अपेक्षा राख्दै भ्रष्टाचार विरुद्धको लडाईंमा आयोगको प्रयासको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो।
उक्त कार्यक्रममा मन्तव्य राख्ने क्रममा आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राईले भ्रष्टाचारको संजाल दिनानुदिन विस्तार हुनुको साथै यसले संस्थागत रुप लिदै गएको र विकासका पूर्वाधारहरुको निर्माणमा बर्षेनी ठूलो रकम खर्च भएता पनि आवश्यक गुणस्तर एवम् यिनीहरुको दिगो व्यवस्थापन गर्न नसक्दा श्रोतको दुरुपयोग बढेको बताउनु भयो।
राज्य अन्तर्गतका सबै निकायहरुले कानुनत: प्राप्त अधिकार र दायित्वलाई जिम्मेवारी र दृढतापूर्वक निर्वाह गरेमा भ्रष्टाचार स्वत: घट्न सक्ने भन्दै नागरिकलाई सुशासनको अनुभूति दिलाउन राज्यका नियामक निकायहरु समेत क्रियाशील रहनुपर्ने कुरामा जोड दिनु भयो।भ्रष्टाचार नियन्त्रणको लागि आयोगको एकल उपस्थिति, सक्रियता र भूमिकाले मात्र सम्भव नहुने हुँदा सरकार, निजी क्षेत्र, नागरिक समाज, सञ्चार जगत र सर्वसाधरण नागरिकको समेत सक्रिय भूमिका र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नु भयो।
वहाँले भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धीको नेपाल पक्ष राष्ट्र बनिसकेको सन्दर्भमा यसबाट सृजित दायित्व निर्वाह गर्न विद्यमान कानुनी संरचनामा समयानुकूल सुधार र परिमार्जनको खाँचो रहेको उल्लेख गर्नु भयो।माननीय प्रमुख आयुक्तले भर्खरै प्रकाशित Transparency International Nepal को सन् २०२२ को प्रतिवेदन अनुसार नेपालले भ्रष्टाचार अनुभूती सूचाङ्कमा कुल ३४ अंक प्राप्त गरी ११० औं स्थानमा रहँदा विगतको तुलनामा केही सुधार देखिएतापनि भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्बनका सन्दर्भमा नेपाल अझै जोखिमपूर्ण स्थानमानै रहेको हुँदा सबै सरोकार निकाय, व्यक्ति र पक्ष जिम्मेवार भई अगाडि बढ्न आवश्यक रहेको बताउनु भयो।साथै,आयोगको कार्य सम्पादनको लागि आवश्यक स्रोत साधन,जनशक्ति परिचालन तथा ऐन कानुन तर्जुमा गरी सहजीकरण तथा हौसला प्रदान गरेकोमा नेपाल सरकारप्रति आयोगको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत यस प्रकारको सहयोगको निरन्तरताको अपेक्षा गर्नु भयो। 
कार्यक्रममा उपस्थित सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय कायम मुकायम प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष,  माननीय उपप्रधानमन्त्री लगायत उपस्थित विशिष्ट पाहुनाहरुलाई स्वागत गर्दै आयोगका माननीय आयुक्त किशोर कुमार सिलवालले अहिले विश्वमा बढिरहेको सूचना सञ्जालीकरण र आधुनिक प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप, तौर-तरिका र आयाममा परिवर्तन हुँदै गईरहेको र सीमाहिन अपराधको रुपमा विस्तार हुँदै गएको भ्रष्टाचार कुनै अमुक संस्था र राष्ट्रको मात्र नभएर अन्तर्राष्ट्रिय चासो र चुनौतीको विषय बन्न पुगेकोले यसको नियन्त्रणमा सबैको साझा प्रतिवद्बता आवश्यक रहेको बताउनु भयो। 
कार्यक्रममा सम्माननीय राष्ट्रपतिले भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धनमा उल्लेखनीय योगदान पुर्‍याउने पत्रकार, लेखक तथा उत्कृष्ट अनुसन्धानकर्ता पुरस्कार र उत्कृष्ट अख्तियार सेवा पुरस्कार पाउने आयोगका कर्मचारीहरुलाई पुरस्कृत गर्नु भयो।साथै,सम्माननीय प्रधानमन्त्रीले आयोगबाट आयोजना गरिएको राष्ट्रव्यापी खुला कविता प्रतियोगितामा प्रथम, द्बितीय र तृतीय हुने कवीहरुलाई पुरस्कृत गर्नु भयो।
कार्यक्रममा सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय कायम मुकायम प्रधानन्यायाधीश, प्रतिनिधि सभाका सम्माननीय सभामुख, राष्ट्रिय सभाका सम्माननीय अध्यक्ष, माननीय उपप्रधानमन्त्री, नेपाल सरकारका मुख्य सचिव तथा सचिवहरु, सञ्चारकर्मी लगायत आयोगमा कार्यरत कर्मचारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रम नेपाल प्रहरीको सभा हल, नक्सालमा विहान ९ बजे देखि दिउँसो ११:१५ बजेसम्म भएको थियो।
 
श्याम प्रसाद भण्डारी
प्रवक्ता
 
 
 
 

Download Download
  

Other Press Release