भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न। (सुदूरपश्चिम प्रदेश,धनगढी,कैलाली)


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१८ गते।
------------------------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. हरि पौडेलको अध्यक्षता र सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय प्रकाश बहादुर देउवाको प्रमुख आतिथ्यमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०८०।०९।१८  गते धनगढी, कैलालीमा संचालन भयो।

उक्त कार्यक्रममा बोल्दै सुदूर पश्चिम प्रदेशका प्रमुख सचिव डा. हरि लम्सालले सुशासन प्रवर्द्धन एवम् भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले सार्वजनिक जवाफदेहिता वहन गर्दै कानुन सम्मत ढंगले कार्यसम्पादन गर्नुपर्ने बिषयलाई जोड दिनु भयो।

सो कार्यक्रमका प्रमुख अतिथि एवम् सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री माननीय प्रकाश बहादुर देउवाले भ्रष्टाचार नियन्त्रण गर्ने हामी सबैको अभिभारा भएको र सुशासन प्रवर्द्धन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको भुमिका उल्लेखनीय रहेको एवम् प्रदेश सरकारले सुशासन प्रवर्द्धन गर्न भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको विषय व्यक्त गर्नु भयो।यस्तै विशेष अतिथि, आर्थिक मामिला तथा योजना मन्त्री माननीय नरेश कुमार शाहीले जिम्मेवार र नयाँ सोच सहितको नागरिक समाज, निस्वार्थी र समर्पित राजनीतिज्ञ तथा सकारात्मक र कर्मयोगी कर्मचारीतन्त्रको सहकार्यबाट सुशासन कायम राख्न सकिने विषय उल्लेख गर्नु भयो । 

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. हरि पौडेलले सहभागिहरुले राख्‍नुभएको जिज्ञासालाई एकमुष्ट रुपमा सम्बोधन गर्दै भ्रष्टाचार नियन्त्रण गर्न हामी सबैको साझा प्रतिवद्धता आवश्यक हुने कुरा औल्याउँनु भयो । उहाले निजी लाभ र स्वार्थमा नपरी सार्वजनिक हितका लागि काम गरेमा सुशासन प्रवर्द्धन हुने बताउँदै कार्यक्रमको समापन गर्नुभयो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरका कार्यालय प्रमुख सहसचिव रमेश कुमार के.सी.ले सहभागिहरुलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो। साथै, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहसचिव इश्वरी प्रसाद अर्यालले आयोगको समग्र विवरण सहितको कार्यपत्र प्रस्तुत गर्नुभयो।

उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री माननीय रामेश्वर चौधरी, कैलाली जिल्ला स्थित विभिन्‍न स्थानीय तहका प्रमुख/उपप्रमुखहरु, प्रदेश सचिवहरु र संघिय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।


प्रवक्ता
नरहरि घिमिरे

Download Download