नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादव उपर बिगो ९६,८५,५५३।१९ कायम गरी गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।


प्रेस विज्ञप्ति:- मिति २०८२।०४।२९ गते।
------------------------------------------

नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, भृकुटीमण्डप, काठमाण्डौंका निर्देशक (सि.डि.ई.) सचिन्द्र कुमार यादवले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको भन्ने उजुरी निवेदनका सम्बन्धमा अनुसन्धान हुँदा निज सचिन्द्र कुमार यादवको शुरू नियुक्ति भएको मिति २०६६।०२।२४ गतेदेखि मिति २०७९।०४।२९ गतेसम्मको जाँच अवधिमा निजले प्राप्त गरेको पारिश्रमिक/तलब बचत वापतको रकम, दैनिक भ्रमण भत्ता बचत वापतको रकम, जीवन बीमाको अवधि समाप्ति पश्चात प्राप्त रकम, हिमाल आरोहणको क्रममा सम्पर्क अधिकृत भई कार्य गर्दा प्राप्त गरेको रकम, आंशिक समय परामर्शदाताको रुपमा काम गर्दा प्राप्त गरेको रकम, घर बहालमा दिंदा प्राप्त रकम, बैठक भत्ता बचत वापतको रकम, कर्मचारी सञ्चय कोष र स्वदेशी बैंकबाट लिएको कर्जा सापटी रकम, कृषि आय वापतको रकम, जग्गा बिक्रीबाट प्राप्त आय रकम, बैंकमा रहेको मुद्दती तथा बचत खातामा भएको मौज्दातमा प्राप्त ब्याज रकम, बिभिन्न कम्पनीहरूको शेयर बिक्रिबाट प्राप्त रकमसमेत गरी निज सचिन्द्र कुमार यादव र निजका एकाघर परिवारका सदस्यहरूले जाँच अवधिमा कुल रू. २,६८,१८,९००।७२ आय आर्जन गरेको देखिएको।
सोही जाँच अवधिमा निजको व्ययतर्फ घरजग्गा खरिद/रजिष्ट्रेशन दस्तुरसमेतको रकम, घर निर्माण खर्च, कर्मचारी सञ्चय कोष र बैंकबाट लिएको कर्जा सापटीको साँवा व्याज भुक्तानी रकम, बिभिन्न कम्पनीहरूको शेयर खरिदमा भएको लगानी रकम, शैक्षिक खर्च, जीवन बीमाको प्रिमियम भुक्तानी रकमका साथै, निज र निजको परिवारको नाममा रहेको बिभिन्न बैंक तथा वित्तीय संस्थामा रहेको खातामा भएको बैंक मौज्दात रकमसमेत गरी जाँच अवधिमा कुल रू.३,६५,०४,४५३।९१ खर्च तथा लगानी गरेको देखिएकोले निजको जाँच अवधिमा रू.९६,८५,५५३।१९  बराबरको सम्पत्ति (खर्च तथा लगानी) को स्रोत पुष्टि नभएको हुँदा निजले आर्जन गरेको सम्पूर्ण सम्पत्ति वैधानिक रुपमा आर्जन गरेको भन्ने वस्तुनिष्ठ आधार तथा प्रमाणबाट प्रमाणित गर्न नसकेकोले सार्वजनिक सेवाको पदमा बहाल रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरी अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको पुष्टि हुन आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) मा परिभाषित एवं निषेधित गरिए बमोजिमको कसुरमा बिगो रू.९६,८५,५५३।१९  (छयानब्बे लाख पचासी हजार पाँच सय त्रिपन्न रूपैयाँ उन्नाईस पैसा) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिमको कैद र बिगो बमोजिम जरिवाना हुन साथै, भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२), दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. बमोजिम गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत हुन एवं निजले बार्षिक रुपमा पेश गरेको सम्पत्ति विवरणमा वास्तविक सम्पत्तिको विवरण उल्लेख नगरी सम्पत्ति लुकाई छिपाई झुट्टा विवरण पेस गरेकोसमेत पुष्टि भएकोले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (२) बमोजिमको कसुरमा कैद जरिवाना हुन मागदावी लिइएको छ।
साथै, निज सचिन्द्र कुमार यादवले सार्वजनिक पदमा रहँदा गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्ति पत्नी आशा कुमारी यादवको नाममा राखेको देखिएको हुँदा उक्त सम्पत्ति भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ख. समेतका प्रचलित कानून बमोजिम जफत गर्ने प्रयोजनार्थ मात्र निज आशा कुमारी यादवलाई प्रतिवादी कायम गरी आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।

प्रवक्ता
राजेन्द्र कुमार पौडेल

आरोपत्र प्रेश बिज्ञप्ति आरोपत्र प्रेश बिज्ञप्ति
  

Other Press Release

नेपाल नागरिक उड्‍डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी, तत्कालीन निर्देशक मुरारी भण्डारीसमेत ६ जना र अभियन्त्र कन्सल्टिङ्ग प्रा.लि. उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/03
कटहरिया नगरपालिका, रौतहटका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत राम प्रकाश साहसमेत ७ जना र सरिता फाउण्डेशन, काठमाडौं उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/02
नरहरिनाथ गाउँपालिका, कालिकोटका तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का तत्कालीन वडा अध्यक्ष दल बहादुर बिश्वकर्मासमेत ८ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/12/01
मायादेवी गाउँपालिका, कपिलवस्तुमा कार्यरत तत्कालीन प्रमुख प्रशासकीय अधिकृतहरु रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्ण प्रसाद तिमिल्सिनासमेत ७ जना उपर सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
2025/11/30