यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।१२ गते।
------------------------------------------
जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिकास्थित यातायात व्यवस्था कार्यालय, हेटौंडामा कार्यरत अधिकृत छैटौं अमृत भेटुवालले सवारी सरूवा सहमति गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौडाबाट खटिई गएको टोलीले बिचौलिया लेखापढी व्यवसायी खगेन्द्र पौडेलले सेवाग्राहीबाट रू. ११,५००।– (एघार हजार पाँच सय रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा निजहरू दुवै जनालाई नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा यातायात व्यवस्था कार्यालय हेटौडा, मकवानपुरका अधिकृत छैटौं अमृत भेटुवाल र लेखापढी व्यवसाय (बिचौलिया) गर्ने भनिएका खगेन्द्र पौडेलसमेतको आपसी मिलेमतो तथा योजनामा सवारी सरूवा सहमति दिनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरी बार्गेनिङ गरी गराई रू.११,५००।- (एघार हजार पाँच सय रूपैयाँ) घुस/रिसवत रकम लिन सहमति भई प्रतिवादीहरू अमृत भेटुवाल र खगेन्द्र पौडेलको पूर्वयोजना तथा सहमति बमोजिम घुस/रिसवत लिएको स्थापित भएकोले प्रतिवादी अमृत भेटुवाललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.११,५००।–(एघार हजार पाँच सय रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन, साथै प्रतिवादी खगेन्द्र पौडेललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा सोही ऐनको दफा ३ को उपदफा (२) ले निर्देश गरेबमोजिम बिगो रू.११,५००।–(एघार हजार पाँच सय रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति
प्रेश बिज्ञप्ति
Tweet