जिल्ला बर्दिया, बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्ल उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२४ गते।
------------------------------------------
जिल्ला बर्दिया, बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लले ऐ. नगरपालिका वडा नं. ७ मा रहेको बिद्यालयको ४ कोठे भवन निर्माण कार्यको अन्तिम बिल भुक्तानीको लागि सहजीकरण गरिदिएवापत सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगंजबाट खटिई गएको टोलीले निज इन्जिनियर मोहनदेव मल्ललाई सेवाग्राहीबाट रू.१,५०,०००।– (एक लाख पचास हजार रूपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा जिल्ला बर्दिया, बारबर्दिया नगरपालिकाको भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहनदेव मल्लले बारबर्दिया नगरपालिका, रम्भापुरस्थित बिद्यालयको ४(चार) कोठे भवन निर्माणको अन्तिम बिल भुक्तानीका लागि नापजाँच एवं बिल तयार/पास समेतका काममा सहजीकरण गरिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत रू.१,५०,०००।–(एक लाख पचास हजार रूपैयाँ) माग गरी लिएको स्थापित भएकोले निजको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रू.१,५०,०००।-(एक लाख पचास हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी
Tweet