नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दास उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति :- मिति २०८३।०१।२८ गते।
------------------------------------------
जिल्ला सप्तरीस्थित नेपाल बिद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र, सप्तरीका प्रमुख महेन्द्र कुमार दासले चार्जिङ्ग स्टेशनको लागि ट्रान्सफर्मर राखी लाइन छाडिदिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज महेन्द्र कुमार दासलाई सेवाग्राहीसँग रू. १,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नेपाल विद्युत प्राधिकरण, बितरण केन्द्र कञ्चनपुर, सप्तरीका प्रमुख महेन्द्र कुमार दासले चार्जिङ्ग स्टेशन संचालनको लागि विद्युत लाइन छाडिदिनका लागि नियमानुसार कार्य सम्पन्न भएपश्चात उक्त कार्य गरेवापत सेवाग्राहीसँग घुस/रिसवत रकमको लागि बार्गेनिङ्ग गरी, नदिएमा लाइन काटिदिने धम्कि दिई रु.१,४०,०००।– (एक लाख चालीस हजार रुपैयाँ) घुस/रिसवत लिएको स्थापित भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रु.१,४०,०००।- (एक लाख चालीस हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति
Tweet