नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादव उपर घुस (रिसवत) लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०६।१९ गते।
------------------------------------------
जिल्ला सुनसरी, इटहरी उपमहानगरपालिका वडा नं. ८ स्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, इटहरीमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवले गार्मेन्ट उद्योगमा २० के.भि. क्षमताको विद्युत् लाइन जडान गर्नको लागि सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस (रिसवत) माग गरिरहेको भन्ने सूचना एवम् उजुरी निवेदनका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीबाट खटिई गएको टोलीले निज इन्जिनियर कृष्ण नारायण यादवलाई सेवाग्राहीबाट घुस (रिसवत) वापत रू. ५०,०००/- (पचास हजार रूपैयाँ) लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा नेपाल विद्युत् प्राधिकरण, इटहरी वितरण केन्द्रमा कार्यरत इन्जिनियर कृष्ण नारायण यादवले आफ्नो ओहदा एवम् सोसम्बन्धी जिम्मेवारी बहन गर्ने क्रममा सेवाग्राहीको उद्योगमा विद्युत् लाइन जडानको सेवा दिनुपर्ने काममा बदनियतपूर्ण तवरले ढिलासुस्ती गरी गराई अनावश्यक दुख: हैरानी दिई घुस (रिसवत) दिन बाध्य गराई विद्युत् लाइन जडान तथा उक्त कार्यमा सहजीकरण गरे गराए वापत रू.५०,०००।-(पचास हजार रूपैयाँ) घुस (रिसवत) माग गरी लिएको पुष्टि भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुरमा बिगो रू.५०,०००।-(पचास हजार रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet