गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवउपर बिगो रु. ४,००,०००।– कायम गरी घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोप-पत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०७७।०५।०९ गते।
------------------------------------------
जिल्ला रुपन्देही, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाका कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा दिलाउन सहजीकरण गर्ने प्रयोजनको लागि सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले निज विश्वनाथ प्रसाद लोध र मतियार महेन्द्र प्रसाद यादवलाई रु. ४,००,०००/- (चार लाख) घुस/रिसवत बापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा करार सेवामा कार्यरत कार्यालय सहयोगी (चेनमेन) विश्वनाथ प्रसाद लोधले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना, भैरहवाले अधिग्रहण गरेको जग्गाको मुआब्जा वितरणमा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग रु.४,००,०००।- बिचौलिया महेन्द्र प्रसाद यादवमार्फत घुस/रिसवत रकम माग गरी लिएको तथ्य पुष्टि हुन आएकोले निज विश्वनाथ प्रसाद लोधले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को कसुर भएको हुँदा निज विश्वनाथ प्रसाद लोधलाई बिगो रु.४,००,०००।- (चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजाय हुन मागदाबी लिइएको छ ।
साथै अर्का प्रतिवादी महेन्द्र प्रसाद यादवले जग्गाको मुआब्जा वितरणमा सहजीकरणको लागि विश्वनाथ प्रसाद लोधलाई घुस रकम दिनुपर्छ भन्दै घुस/रिसवत रकम रु.४,००,०००।- माग गरी सेवाग्राहीलाई उक्त रकम बैंकमा जम्मा गराउन लागेको तथ्य पुष्टि हुन आएकोले निज महेन्द्र प्रसाद यादवले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (२) को कसुर भएको हुँदा निज महेन्द्र प्रसाद यादवलाई बिगो रु.४,००,०००।- (चार लाख) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम जरिवाना र कैद सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको छ।
प्रवक्ता
तारानाथ अधिकारी
Download
Tweet