भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।१७ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ अमात्यको अध्यक्षता र कोशी प्रदेशका माननीय मुख्यमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्वन्धी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम मिति २०८०।०९।१७ गते कोशी प्रदेश, विराटनगर महानगरपालिकाको सभाहलमा संचालन भयो।

उक्त कार्यक्रममा बोल्दै कोशी प्रदेशका निमित्त प्रमुख सचिव इश्वर कुमार गिरीले सुशासन प्रवर्द्धन एवम् भ्रष्टाचार नियन्त्रणका लागि कर्मचारीले प्रचलित नियम कानूनको परिधि भित्र रहेर कार्यसम्पादन गर्नुपर्ने बिषयलाई जोड दिनु भयो।
सो कार्यक्रममा कोशी प्रदेशका माननीय मूख्यमन्त्री केदार कार्कीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग हामी सबैको सहयोगी निकाय भएको, संविधानले नै परिकल्पना गरेको भ्रष्टाचार नियन्त्रण एवम् सन्तुलन कायम गर्ने संवैधानिक निकाय भएको हुँदा सबैको हातेमालोबाट मात्रै सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न सकिने धारणा राख्‍नुभयो।

उक्त कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त डा. सुमित्रा श्रेष्ठ ‍अमात्यले सहभागिहरुले राख्‍नुभएको जिज्ञासालाई एकमुष्ट रुपमा सम्बोधन गर्दै जनताबाट उठेको करलाई सबैले सदुपयोग गर्नुपर्ने बताउनु भयो। उहाँले कानून बमोजिम प्रदत्त जिम्मेवारी सबैले पूर्ण रूपमा पालना गरेमा मात्र भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्न सकिने भएकोले आ-आफ्नो पदीय जिम्मेवारीमा सबै गम्भीर बन्नुपर्ने बताउँदै कार्यक्रमको समापन गर्नुभयो।

कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, इटहरीका कार्यालय प्रमुख सहसचिव सुरेश न्यौपानेले सहभागीहरुलाई स्वागत गर्दै कार्यपत्र प्रस्तुत गर्नुभयो। साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता पुजा खत्रीले आयोगको समग्र विवरणसहितको कार्यपत्र प्रस्तुत गर्नुभयो।

उक्त कार्यक्रममा कोशी प्रदेशका माननीय भौतिक पूर्वाधार मन्त्री कमल प्रसाद जगेबू, कोशी प्रदेशका विभिन्‍न स्थानीय तहका प्रमुख/उपप्रमुखहरु, प्रदेश सचिवहरु र संघिय तथा प्रादेशिक कार्यालयका प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो।

प्रवक्ता
नरहरि घिमिरे

 

Download Download