बागमती प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न।


प्रेस विज्ञप्ति:- मिति २०८०।०९।२६ गते।
------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाको आयोजनामा मिति २०८०।०९।२६ गते बिहिबार बागमती प्रदेशस्तरीय भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धन विषयक अन्तरक्रिया कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालय परिसरमा रहेको प्रदेश सुशासन केन्द्रको हलमा सम्पन्‍न भयो। कार्यक्रम अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय आयुक्त श्री किशोर कुमार सिलवालज्यूको अध्यक्षता र बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री श्री गंगा नारायण श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उक्त कार्यक्रममा बागमती प्रदेशका माननीय मन्त्रीज्यूहरु, प्रदेश सभाका सदस्य, जिल्ला समन्वय समिति, मकवानपुरका प्रमुख, बागमती प्रदेशका प्रमुख सचिव, जिल्ला समन्वय समिति, मकवानपुरका उपप्रमुख, हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख, बागमती प्रदेशका प्रदेश सचिवहरु, मकवानपुरका प्रमुख जिल्ला अधिकारी, मकवानपुर जिल्लास्थित संघीय, प्रादेशिक कार्यालयका कार्यालय प्रमुखहरु, सुरक्षा निकायका कार्यालय प्रमुखहरु, मन्त्रालयका महाशाखा प्रमुखहरु, नागरिक निगरानी संस्था, मकवानपुरका अध्यक्ष एवं सञ्चारकर्मीहरु र अन्य कर्मचारीहरु गरी २०३ (दुई सय तीन) जनाको सहभागिता रहेको थियो। 

अन्तरक्रिया कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहन्यायाधिवक्ता श्री कृष्ण मोहन कोइरालाले कार्यपत्र प्रस्तुत गर्दै भ्रष्टाचार नियन्त्रण सम्बन्धमा रहेका कानूनी व्यवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुशासन प्रवर्द्धन गर्न एवं भ्रष्टाचार नियन्त्रणमा गरेका काम कारबाहीहरु, आयोगको कामको सामान्य प्रक्रियाको बारेमा जानकारी गराउनु भएको थियो। भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको राज्यको नीति अनुरूप आयोगले आफ्नो दायित्व निर्वाह गर्न प्रवर्द्धनात्मक, निरोधात्मक, उपचारात्मक तथा संस्थागत क्षमता विकासको रणनीति अवलम्बन गरिरहेको जानकारी गराउनु हुँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासन स्थापना गर्न सके मात्र समग्र शासन प्रणाली संस्थागत हुने कुरा उल्लेख गर्नु भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, हेटौंडाका कार्यालय प्रमुख श्री उमाकान्त आचार्यले कार्यपत्र प्रस्तुत गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा आयोगको कार्यालय, हेटौंडाबाट सम्पादन भएका काम कारबाहीहरू तथा भ्रष्टाचार न्यूनीकरण एवम् सुशासन प्रवर्द्धनका सन्दर्भमा भएका प्रगति स्थितिबारे  तथ्याङ्क सहित जानकारी गराउनुभएको थियो। 

कार्यक्रममा प्रमुख अतिथि आन्तरिक मामिला तथा कानून मन्त्री श्री गंगा नारायण श्रेष्ठज्यूले भ्रष्टाचार महारोगको रुपमा रहेको, भ्रष्टाचार बढ्नुमा राजनीतिक नेतृत्व र कार्यशैली मुख्य रुपमा जिम्मेवार रहेको बताउनु भएको थियो। उहाँले सत्ता र सम्पत्तिलाई सत्यको स्रोत मान्‍ने सामाजिक मनोविज्ञान घातक रहेको बताउनु हुँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संरचनालाई परिवर्तन गरी थप अधिकार सम्पन्‍न बनाउनु आवश्यक रहेको बताउनु भएको थियो। कार्यक्रममा प्रमुख सचिव श्री घनश्याम उपाध्यायज्यूले आयोगमा उजुरी परेको कारण देखाउँदै विकासका कामको प्रक्रिया रोक्न नहुने धारणा राख्‍नु भएको थियो। उहाँले अख्तियार दुरुपयोग अनुसन्धान आयोग विकासको बाधक होइन भन्दै प्रदेश सरकारको तर्फबाट कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गर्नु भएको थियो।

कार्यक्रमका अध्यक्ष तथा आयोगका माननीय आयुक्त श्री किशोर कुमार सिलवालज्यूले कानूनको परिपालनाको मापन नभएको र सामान्यतया कमजोर परिपालना रहेको बताउनु भएको थियो। उहाँले संघीय र प्रादेशिक कार्यपालिकाबाट नीतिगत निर्णयका नाममा व्यवस्थापकीय कामका निर्णयहरु हुने गरेको देखिएको उल्लेख गर्नु भएको थियो। उहाँले अहिले भ्रष्टाचार बढेको चर्चा सर्वत्र रहेको तर नियन्त्रणका लागि चासो र सक्रियता कम हुनु मुख्य चुनौतीको रुपमा रहेको बताउनु भएको थियो। उहाँले कार्यक्रममा सहभागिताका लागि प्रदेश सरकारका मन्त्रीज्यूहरु लगायत सबैलाई धन्यवाद दिँदै कार्यक्रमको समापन गर्नु भएको थियो।

सहायक प्रवक्ता
देवी प्रसाद थपलिया

Download Download
  

Other Press Release