पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा गैरकानुनी लाभ वा हानी पुर्‍याई भ्रष्टाचार गरेको मुद्दामा भएको बेरीतको आदेश बदर गरी प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरिएको।


प्रेस विज्ञप्ति :- मिति २०८२।१२।२४ गते।
---------------------------------------------
 
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनामा भ्रष्टाचार भएको सम्बन्धमा  संलग्न  प्रतिवादीहरु मध्ये नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन उपनिर्देशक हाल सेवानिवृत्त पुण्यराज शाक्य समेतका प्रतिवादीहरूले आफूलाई गैरकानुनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्था/नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई ७,४३,४३,४५०.०० अमेरिकी डलर (सात करोड त्रिचालीस लाख त्रिचालिस हजार चार सय पचास अमेरिकी डलर) अर्थात नेपाली रू.८,३६,७३,५५,२९७।५०  (आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुईसय सन्तानब्बे रूपैयाँ पचास पैसा) गैरकानुनी हानी पुर्‍याउने बद्‌नियतले स्वीकृत लागत अनुमान १६,९६,९७,०००.०० अमेरिकी डलर भन्दा अस्वभाविक रूपमा लागत अनुमान ७,४३,४३,४५०.०० अमेरिकी डलर बढाई संशोधन गरी गराई २४,४०,४०,४५०.०० अमेरिकी डलर बढी मूल्य तिरी मनासिब कारण बिना अन्य राष्ट्रसेवक र गैर राष्ट्रसेवक निर्माण व्यवसायी समेतका प्रतिवादीहरूसँगको एक आपसको मिलेमतोमा आफूलाई गैरकानुनी लाभ र नेपाल सरकार/सार्वजनिक संस्था/नेपाल नागरिक उड्‍डयन प्राधिकरणलाई गैरकानुनी हानी पुर्‍याउने बद्‌नियतले लागत इष्टिमेट अस्वभाविक रूपमा बढाई संशोधन गरी काम गरे गराएको, सोही बढी दायित्व बहन गर्नुपर्ने गरी खरिद कार्यको सम्झौता गरी गरार्इ सोही आधारमा अस्वभाविक रूपमा बढी मूल्य तिरी खरिद गरी गराई सोही बमोजिम भुक्तानी भएको देखिएकोमा प्रतिवादीहरूको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (घ), (ङ) र (ञ) विपरीतको कसुर भएको हुँदा प्रतिवादीहरूलाई बिगो ७,४३,४३,४५०.०० अमेरिकी डलर (सात करोड त्रिचालीस लाख त्रिचालीस हजार चार सय पचास अमेरिकी डलर) अर्थात नेपाली रकम रू.८,३६,७३,५५,२९७।५०  (आठ अर्ब छत्तीस करोड त्रिहत्तर लाख पचपन्न हजार दुईसय सन्तानब्बे रूपैयाँ पचास पैसा) कायम गरी सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम कैद र बिगोबमोजिम जरिबाना सजाय गरी बिगो असुल उपर हुन मागदाबी लिई बिशेष अदालतमा मिति २०८२/०८/२१ मा आरोपपत्र (मुद्दा नं.०८२-CR-००४८)  दायर गरिएको।
प्रस्तुत मुद्दामा विशेष अदालत काठमाण्डौबाट प्रतिवादीहरु मध्येका प्रतिवादी डा. पुण्यराज शाक्यलाई साधारण तारिखमा राख्ने गरी मिति २०८२।१२।२ गते, प्रतिवादी China CAMC Engineering co.ltd को तर्फबाट अधिकार प्राप्त प्रतिवादी रविन रिजाललाई रु.२५,००,०००/- धरौटी रकम माग गर्ने गरी मिति २०८२।१२।०३ गते, प्रतिवादी रतीश चन्द्रलाल सुमनलाई रु.५,००,०००/-धरौटी माग गर्ने गरी मिति २०८२।१२।०५ गते, प्रतिवादी हरि बहादुर खड्कालाई साधारण तारिखमा राख्ने गरी मिति २०८२।१२।०५ गते, प्रतिवादी रोशन चित्रकारलाई साधारण तारिखमा राख्ने गरी मिति २०८२।१२।०८ गते र प्रतिवादी भिम प्रसाद आचार्यलाई रु.२,५०,०००/- धरौटी माग गर्ने भनी मिति २०८२।१२।०९ गते मुद्दाको पुर्पक्ष गर्ने गरी आदेश भएकोमा उक्त आदेशहरू बेरीतको देखिंदा प्रतिवादीहरूलाई विशेष अदालत ऐन, २०५९ को दफा ७ को देहाय (ङ) बमोजिम थुनामा राखी मुद्दाको पुर्पक्ष गरी पाउन सम्मानित सर्वोच्च अदालत समक्ष मिति २०८२/१२/२४ मा निवेदनपत्र दर्ता गरिएको छ ।
 
सहायक प्रवक्ता
गणेश बहादुर अधिकारी

प्रेश बिज्ञप्ति प्रेश बिज्ञप्ति निवेदनको बिबरण निवेदनको बिबरण