अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त प्रेम कुमार राई र एशिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिमण्डलबिच शिष्टाचार भेटघाट सम्पन्न।
मिति २०८३।०२।०६ गते।
---------------------------------------------
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका माननीय प्रमुख आयुक्त श्री प्रेम कुमार राई र सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी एसिया प्यासिफिक ग्रुप अन मनि लाउण्डरिङ (एपिजी) का प्रतिनिधिहरूबिच मिति २०८३ जेठ ५ गते आयोगको कार्यालय, टङ्गालमा भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा एपिजीको तर्फबाट डेलिगेसन प्रमुख डेविड सानन र पारस्परिक मूल्याङ्कन संयोजक किया सासलीको सहभागिता रहेको थियो। छलफलका क्रममा एपिजीका डेलिगेसन प्रमुख डेविड साननले नेपालले सम्पत्ति शुद्धीकरणसम्बन्धी 'ग्रे लिष्ट' बाट बाहिरिनका लागि आगामी दिनमा चाल्नुपर्ने कदमहरूका बारेमा चर्चा गर्दै इन्टरनेसनल कोअपरेसन रिभ्यु ग्रुपले परिमार्जन गरिदिएको कार्ययोजनाको दृढताका साथ पालना हुनुपर्ने, राष्ट्रिय जोखिम मूल्याङ्कनको कार्य यथाशीघ्र सम्पन्न गर्नुपर्ने र बढी जोखिमपूर्ण देखिएका क्षेत्रहरूमा सुधार केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो। यसै गरी साननले सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर अनुसन्धानको क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्वाह गरेको कार्यको सराहना गर्दै आगामी दिनमा आयोगको अनुसन्धान क्षमता थप सुदृढ तुल्याउन आवश्यक प्राविधिक सहायतासमेत उपलब्ध गराउन सकिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
सो अवसरमा माननीय प्रमुख आयुक्तले नेपाललाई ग्रे लिष्टबाट बाहिर निकाल्ने सवालमा एपिजीले पुर्याउँदै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो। सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरको अनुसन्धान र अभियोजनमा आयोगले सम्पादन गरेका विभिन्न नीतिगत तथा कानुनी सुधार, अनुसन्धान र अभियोजनको परिमाणात्मक र गुणात्मक अभिवृद्धि, अनुसन्धान क्षमता विकास र अन्तरनिकाय समन्वय लगायतका मुख्य सुधारका विषयमा उहाँले प्रकाश पार्नुभएको थियो। छलफलकै क्रममा माननीय प्रमुख आयुक्तले नेपाल ग्रे लिष्टबाट सफलतापूर्वक बाहिर निस्कनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कर्मचारीको स्थायित्वसहितको एउटा छुट्टै विशिष्टिकृत महाशाखा रहनुपर्ने आवश्यकता औंल्याउनुभयो। नेपालले पूरा गर्नुपर्ने विभिन्न दायित्वमध्ये बढि जोखिममा रहेका क्षेत्रहरुको नियमन, सुपरीवेक्षण र कानुनको प्रभावकारी परिपालना प्रमुख विषय भएकाले त्यसतर्फ सम्बद्ध पक्ष जिम्मेवार हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको थियो। माननीय प्रमुख आयुक्तले भ्रष्टाचार र अन्य वित्तीय अपराधसँग जोडिएका सम्पत्ति फिर्ता ल्याउन र अनुसन्धानका लागि उपयोगी तथ्य प्रमाण संकलनका लागि सम्बद्ध मुलुकहरुसँग आपसी कानुनी सहायता सम्झौता गर्न आवश्यक रहेको विचार व्यक्त गर्नुभएको थियो। साथै ग्रे लिष्टमा परेर सफलतापूर्वक बाहिर निस्किएका अन्य मुलुकहरूको सफल अनुभव र सिकाइ नेपालसँग आदानप्रदान गरिदिन एपिजीसँग माननीय प्रमुख आयुक्तले अनुरोध गर्नुभयो।
अन्तमा, सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरको अनुसन्धान र अभियोजन थप सुदृढ गर्न आयोगलाई प्राप्त कानुनी जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुहुँदै माननीय प्रमुख आयुक्तले मुलुकलाई ग्रे लिष्टबाट बाहिर निकाल्न यस विषयलाई उच्च प्राथमिकतामा राखी इमान्दार र परिणाममुखी तवरले आआफ्ना जिम्मेवारी पूरा गर्न सम्बद्ध सबै निकाय र पदाधिकारीलाई अपिल गर्नुभएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
बिज्ञप्ति
बिज्ञप्ति
Tweet