जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीका तत्कालीन नापी अधिकृत हिरालाल पार्धे र सर्भेक्षक अमित कुमार श्रेष्ठ उपर घुस/रिसवत सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।२२ गते।
------------------------------------------
जिल्ला काठमाडौं, नापी कार्यालय कलंकीमा तत्कालीन समयमा सर्भेक्षक पदमा कार्यरत कर्मचारी अमित कुमार श्रेष्ठसमेतले जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. ९ मा रहेको जग्गा हालसाविक गर्नको लागि सेवाग्राहीसँग घुस/रिसवत वापत रू. ५०,०००/-(पचास हजार रुपैयाँ) माग गरेको भन्ने उजुरीका सम्बन्धमा अनुसन्धान हुँदा नापी कार्यालय कलंकीमा तत्कालीन समयमा सर्भेक्षक पदमा कार्यरत कर्मचारी अमित कुमार श्रेष्ठ र नापी अधिकृत हिरालाल पार्धेले भूमि प्रशासन कार्यालय (साविक भूमिसुधार तथा मालपोत कार्यालय) कलंकी, काठमाडौंमा दर्ता श्रेस्ता कायम रहेको साविक मच्छेगाउँ ९ग (हाल चन्द्रागिरी वडा नं. ९ग) मा रहेको जग्गा हालसाविक गरी प्लट मिलानको लागि सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस/रिसवत बापतको रकम बार्गेनिङ गरी नियमपूर्वक गरिदिनुपर्ने काम नगरी दु:ख हैरानी दिई आफ्नो निमित्त घुस/रिसवत वापत रकम रू.५०,०००/– (पचास हजार रुपैयाँ) माग गरी उक्त घुस रिसवत पनि प्राप्त हुने र कसूर वापत कानुनी कारवाहीबाट पनि आफूले उन्मुक्ति पाइने गलत उद्देश्य एवं वदनियत राखी आफु स्वयंले सो रकम नबुझी कार्यालय सहयोगीलाई दिनु भनी रकम लिन मन्जुर गरेको पुष्टि भएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा बिगो रू.५०,०००/– (पचास हजार रुपैयाँ) कायम गरी निज प्रतिवादीहरू अमित कुमार श्रेष्ठ र हिरालाल पार्धेलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet