आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालसमेत २ जना उपर घुस/रिसवत लिई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर।
प्रेस विज्ञप्ति:- मिति २०८३।०५।०२ गते।
------------------------------------------
जिल्ला सिरहा, लहान नगरपालिका वडा नं. ६ स्थित आन्तरिक राजस्व कार्यालय, लहानका कर अधिकृत युवराज एम. एस. पालले आ.ब. २०७८/०७९ को पूर्ण कर लेखापरीक्षण गर्नको लागि पेस गरेका कागजातहरु मिलेन भनी दु:ख हैरानी दिई सेवाग्राहीसँग घुस/रिसवत माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासबाट खटिई गएको टोलीले निज कर अधिकृत युवराज एम. एस. पाललाई सेवाग्राहीबाट रु.५,००,०००।– (पाँच लाख रुपैयाँ) घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको थियो।
अनुसन्धानको सिलसिलामा आन्तरिक राजश्व कार्यालय, लहान, सिरहाका कर अधिकृत युवराज एम. एस. पालले आर्थिक वर्ष २०७८/०७९ देखिको लेखापरीक्षण लगायत कर निर्धारण समेतको काम गरी गराई कर फर्छ्यौट गर्न गराउन सेवाग्राहीले पेस गरेका विल विजकहरु मिलेन, मिलाउनु पर्छ नमिले तपाईँको काम हुँदैन भनी विभिन्न व्यवसायिक तथा औद्योगिक फर्म कम्पनीहरुको लेखापरीक्षण गर्ने गराउने र कर निर्धारण गर्ने गराउने काम गर्दा गराउँदा एक आपसको मिलेमतो र सम्बन्ध भएका चार्टड एकाउण्टेन्ट राम रिझन यादवमार्फत वार्गेनिङ गरी घुस/रिसवत वापत रु.५,००,०००/- (पाँच लाख रूपैयाँ) लिएको निज युवराज एम. एस. पालको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निजलाई बिगो रु.५,००,०००।-(पाँच लाख रूपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिइएको छ।
साथै चार्टड एकाउण्टेन्ट राम रिझन यादवले प्रतिवादी युवराज एम एस पालसँग मिलेमतो गरी काम मिलाउनको लागि सेवाग्राहीसँग रकमको बार्गेनिङ गरी राष्ट्रसेवक प्रतिवादी युवराज एम एस पाललाई घुस/रिसवत वापतको रकम रु.५,००,०००/-(पाँच लाख रुपैयाँ) लिन लगाएको र सेवाग्राहीलाई घुस/रिसवत दिन लगाई दुरुत्साहन गरेको देखिँदा निज राम रिझन यादवको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (४) बमोजिमको कसुर भएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (४) ले निर्देश गरेबमोजिम भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ग) बमोजिम कैद र सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगोबमोजिम जरिवाना हुन मागदाबी लिई आज बिशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
प्रवक्ता
सुरेश न्यौपाने
Tweet